काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल प्रविधिमा आधारित नयाँ आई–सोलुसन प्रणाली ‘भिजन नेक्स्ट’ सार्वजनिक गर्दै बीमा सेवालाई अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने घोषणा गरेको छ। कम्पनीले यही अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखालाई सम्मानसमेत गरेको छ।
काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रममा एक हजारभन्दा बढी सहभागीको उपस्थितिबीच कम्पनीले नयाँ प्रणालीको शुभारम्भ गरेको हो। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्य तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणाली सार्वजनिक गर्दै डिजिटल रूपान्तरण कम्पनीको आगामी रणनीतिक प्राथमिकता रहेको बताएका छन्।
कम्पनीका अनुसार ‘भिजन नेक्स्ट’ ले बीमालेख व्यवस्थापन, सेवा प्रवाह, दाबी प्रक्रिया तथा ग्राहक सेवामा प्रविधिमार्फत थप दक्षता ल्याउनेछ। यसबाट आन्तरिक कार्यसम्पादन सुधारिनुका साथै सेवाग्राहीले छिटो, पारदर्शी र सहज सेवा पाउने कम्पनीको विश्वास छ। पछिल्ला वर्षहरूमा नेपालको बीमा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढिरहेका बेला सिटिजन लाइफले पनि प्रविधिमा लगानी बढाउँदै प्रतिस्पर्धात्मक क्षमता सुदृढ गर्ने संकेत दिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार अधिकृत भूषण रिमाल तथा सञ्चालक महेश स्वरले संस्थाको दीर्घकालीन विकासका लागि प्रविधि, नेतृत्व विकास र उत्कृष्ट कार्यसम्पादनलाई सँगै अघि बढाइने बताए। उनीहरूले बीमा सेवाको पहुँच विस्तार, ग्राहकको विश्वास अभिवृद्धि र संस्थागत क्षमता सुदृढ गर्न मानव स्रोत र प्रविधिमा निरन्तर लगानी गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जनालाई सम्मान गरिएको थियो। प्रथम बीमा शुल्क संकलनतर्फ बुटवल शाखा देशकै उत्कृष्ट शाखा घोषित भयो। भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर, नितेश श्रेष्ठ उत्कृष्ट सिटिजन लिडर, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता तथा दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने व्यक्तिका रूपमा सम्मानित भए।
कम्पनीले यस्ता सम्मान कार्यक्रमले उत्कृष्ट कार्यसम्पादन गर्ने जनशक्तिलाई थप उत्प्रेरित गर्नुका साथै बीमा व्यवसायको विस्तार र सेवा गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने जनाएको छ।
कार्यक्रममा सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिका साथै आधुनिक प्रविधिको प्रदर्शन पनि गरिएको थियो। ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति सहभागीका लागि आकर्षणको केन्द्र बनेको थियो भने ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाएको थियो।

