चितवन , जेठ १३ – चितवनको माडीमा आयोजना हुन लागेको “माडी मौलिक संस्कृति उत्सव–२०८३” बारे आज भरतपुरस्थित उद्योग संघ चितवनको सभाहालमा पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको छ ।
माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिकाको प्रवर्द्धनमा आगामी जेठ १५ गते बसन्तपुर बजारस्थित खुला चौरमा सञ्चालन हुन लागेको उक्त उत्सव माडीको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा सामाजिक सद्भावलाई संरक्षण, प्रवर्द्धन र उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
पत्रकार सम्मेलनका क्रममा माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले उत्सवको उद्देश्यबारे प्रकाश पार्दै माडीमा बसोबास गर्ने विभिन्न जातजाति, समुदाय र संस्कृतिलाई एउटै मञ्चमा जोडेर आपसी सद्भाव, पहिचान र सांस्कृतिक गौरवलाई थप बलियो बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले मौलिक संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने प्रयासस्वरूप उत्सव आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतोले माडीको मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउँदै उत्सवलाई सफल बनाउन सम्पूर्ण माडीवासी तथा सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले माडीको सांस्कृतिक विविधता नै माडीको विशेषता भएकाले त्यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरी उप–नगर प्रमुख खेमप्रसाद महतोले स्थानीय कला, संस्कृति र सामाजिक एकतालाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले माडीको मौलिक पहिचान जोगाउँदै सांस्कृतिक एकताको सन्देश दिन उत्सव महत्वपूर्ण माध्यम बन्ने बताउँदै उक्त कार्यक्रमको प्रचारप्रसार हुनेगरी समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले यो कार्यक्रम कुनै एक संस्था वा व्यक्तिको मात्र नभई सम्पूर्ण माडीवासीको साझा आयोजना भएको बताउनुभयो । उहाँले उत्सव अवलोकनका लागि विभिन्न ठाउँबाट माडी आउने पाहुनाहरूको बसोबास व्यवस्थापनमा सहजीकरण गर्न स्थानीयवासीलाई समेत आग्रह गर्नुभयो । माडीको आतिथ्यता, संस्कार र सद्भावलाई प्रस्तुत गर्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमका क्रममा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल तथा माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले पत्रकारहरूले उठाएका विभिन्न प्रश्नमाथि समेत प्रकाश पार्नुभएको थियो । कार्यक्रममा उत्सवको तयारी, सहभागी हुने समुदाय, व्यवस्थापन पक्ष, मौलिक खानाको व्यवस्था, झाँकी प्रदर्शन तथा आगन्तुक व्यवस्थापनबारे समेत जानकारी दिइएको थियो ।
उत्सवमा थारु समुदायका विभिन्न ८ थरी प्रस्तुति, मगर, तामाङ, नेवार, दुरा, गुरुङ, चेपाङ, राई, दराई लगायत १२ वटा जनजातिका सांस्कृतिक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ । त्यसैगरी दलित समुदायको पञ्चेबाजा र सारङ्गी, ब्राह्मण–क्षेत्री समुदायको स्वस्तिवाचन तथा भजन, स्थानीय कलाकार तथा विद्यालयस्तरीय लोकदोहोरी गायन र नृत्य पनि आकर्षणका रूपमा रहनेछन् ।
कार्यक्रमअघि मौलिक तथा आकर्षक झाँकीसहित बसन्तपुर बजार परिक्रमा गरिने कार्यतालिका तय गरिएको छ । साथै विभिन्न जातजातिका मौलिक परिकारसहित “मौलिक खाना पर्व” पनि आयोजना गरिनेछ, जहाँ माडीका परम्परागत माछा तथा दुग्धजन्य परिकारको स्वाद लिन सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
Trending
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै
- माडी मौलिक संस्कृति उत्सव हुदै, तयारीका बिषयमा पत्रकार सम्मेलनको आयोजना
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा माडीमा विमा सचेतना कार्यक्रम सम्पन्न

