काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति काठमाडौंको झोरबाट ठूलो परिमाणको विभिन्न देशका मुद्रा बरामद गरेको छ ।
सो कार्यालयका नायव उपरीक्षक (डीएसपी) अनिल घिमिरेको कमान्डको टोलीले काठमाडौंबाट चीनको केरुङ जाने तयारीमा रहेको ना१ख १६५२ नम्बरको ट्रकबाट २५ करोड रुपैयाँबराबर रकम बरामद गरेको प्रहरी स्रोतको दाबी छ । प्रहरीले सो ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा कुसाङ लामा रहेका छन् । उनी सो ट्रकका चालक हुन् ।
प्रहरी स्रोतका अनुसार, बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् । सो ट्रकलाई अहिले टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कार्यालय परिसरमा राखिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले केहीबेरमा घटनाको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ । बरामद रकम अवैध सुन कारोबारीको हुन सक्ने प्रहरी स्रोतको दाबी छ ।