काठमाडौँ —सरकारले निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए।
यस्तै, अर्का एक बोर्ड सदस्यका अनुसार बोर्ड बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए।

