चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएको जंगली हात्तीले माडी-३, मलाही टोलमा १ वटा घर भत्काएको छ ।
बिहीबार राती ११ः४५ बजे मलाही टोलमा आइपुगेको हात्तीले मलाही टोल (रतनी गाउँ) स्थित ठगुवा महतोको घर भत्काएको हो । घरको पाली भत्किनुका साथै छानोमा रहेको टायल फुटाएको छ ।
त्यसक्रममा हात्तीले घरमा रहेको महतो परिवारलाई आक्रमणको प्रयास गरेको तर परिवार सदस्य सबै भागेर ज्यान जोगाएको स्थानीयबासी आशिष सहनीले बताउनुभयो ।
घर भत्काएर अगाडि बढेको हात्तीले सन्तरेशा सहनीको धानबाली खाएर समेत क्षती गरेको थियो । बस्तीमा हात्ती आएको थाहा पाएसंगै गाउँलेहरुले होहल्ला गरेपछि हात्ती फर्र्किएको सहनीले जानकारी दिनुभयो ।
किसानहरुको खेतमा धानबाली काट्दैगर्दा चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडी र ठोरीको गाउँघर खेतबारीमा छिर्न थालेको छ । हात्तीहरु हरेक रातजसो एक्लैदेखि चार पाँचवटाको समूहमा माडी र ठोरीका विभिन्न गाउँहरुमा प्रवेश गरी क्षती गर्दै आएका छन् ।