काठमाडौं : भावी प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष सकिएको छ। आज प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठक भावी प्रधानन्यायाधीश भदौ ३१ गते टुंग्याउने गरी सकिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन्।
संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने भन्दै निर्णय नगरी बैठक सकिएको हो। रानाका अनुसार पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंह राउतको नाममाथि छलफल केन्द्रीय रहेको छ।
‘सिनीयारिटीको हिसाबले त वरिष्ठ प्रकाशमान सिंह राउत नै हो। अस्तिको छलफल र सिफारिसमा हामी फेल भयौं। अब अध्ययन पनि गर्नुपर्छ भनेर आजै हतारमा निर्णय नगरौं भन्ने सल्लाह भयो। दुई दिनपछि फेरि बैठक बसेर निर्णय हुन्छ।’
नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न न्याय परिषद्ले भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको छ। उनीहरुको नाममाथि पनि छलफल भएको छ।