काठमाडौं– चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैहरवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चासो देखाएको छ । यी दुवै विमानस्थल उद्घाटन भएको लामो समय भइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल निर्माण गर्न लिएको ऋणको साँवाब्याज सरकारी ढुकुटीबाट तिर्नुपर्ने अवस्था छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतका जजिरा एयरलाइन्सले केही समय नियमित उडान गरे पनि अहिले बन्द गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने एक/दुईवटा चार्टर्डबाहेक अन्तर्राष्ट्रिय उडान भएको छैन । चाइना साउदर्नले नियमित उडान सुरु गरे विमानस्थल निर्माणका लागि लिएको ऋणको साँवाब्याज भुक्तानीमा केही राहत हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन २०२३ को जनवरी १ मा भएको थियो । गौतमबुद्ध विमानस्थलको उद्घाटन भने २०८० को बुद्ध जयन्तीका दिन भएको थियो । पोखरा विमानस्थल चीनको एक्जिम बैंकबाट ऋण लिएर निर्माण गरिएको हो । गौतमबुद्ध विमास्थलमा एसियाली विकास बैंक र ओपेक फन्डले लगानी गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।
चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले बिहीवार मन्त्री पाण्डेलाई सिंहदरबारमा भेट गरी पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ । ४० ओटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको प्रमुख वायुसेवामध्येको एक चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा सञ्चालन गरिरहेको छ ।
चीनको ग्वाङ्जाओबाट हाल काठमाडौंमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवामा उडानका लागि मन्त्री पाण्डेले गरेको नीतिगत सुधारको प्रशंसा गरेको थियो ।
चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले थपे, ‘तपाईंहरूलाई पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्न स्वागत गर्न चाहन्छु । यसले द्विपक्षीय हित र आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्नेछ ।’
मन्त्री पाण्डेले चाइना साउदर्नको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत बताए ।
साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सोबारेमा आफूलाई जानकारी गराउन अनुरोध गरेका थिए । त्यसैगरी, द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नेसमेत उनले बताए ।