काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८४ को आमनिर्वाचनलाई लक्षित गरेर स्थानीय तहमा छाया सरकार सञ्चालन गर्ने कार्यविधि केन्द्रीय समिति बैठकमा पेस गरेको छ । भदौ ११ गते बसेको केन्द्रीय समिति बैठकमा पार्टीले तयार गरेको स्थानीय छाया सरकार सञ्चालन कार्यविधि २०८१ को मस्यौदा प्रस्तुत भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार मस्यौदामा थप सुझाव लिने निर्णय बैठकले गरेको छ । ‘२०८४ को निर्वाचन हामी संघमात्र लड्ने हैन नि । हामीले स्थानीय तह देखिनै तयारी गर्ने हो‚’ उनले भने । कार्यविधिमा रास्वपाले स्मार्ट वडाध्यक्षको अवधारणा राखेको छ ।
यस्तै क्यान्डिडेट क्लब‚ लिडरसिप एकेडेमीको अवधारणा पनि कार्यविधिमा राखेको छ । यी तीन विषयले पार्टीलाई ०८४ को स्थानीय तह निर्वाचनको तयारीलाई सहयोग गर्ने बुझाई रास्वपाको छ ।
झाका अनुसार सो प्रावधान अनुसार स्मार्ट वडाध्यक्षले आफूलाई अहिलेबाटै वडाध्यक्षको तयारी गर्ने बताए । ‘चुनाव आउनु दुई वर्ष अघि नै वडाध्यक्ष को हुन्छ ? कसको नेतृत्वमा चुनाव लड्ने ? चुनाव लड्नेको भिजन के हुने लगायत अहिले देखिनै वडा सञ्चालन कसरी गर्ने भनेर उसले सिक्दै जान्छ‚’ उनले भने । सोही प्रक्रिया गाउँ र नगरपालिकामा पनि लागू गर्नेगरी कार्यविधि तयारीमा रास्वपा जुटेको छ । पार्टीले देशभर रहेका ६७४३ वडामै छाया सरकारको अभ्यास गर्ने निर्णय गरेको हो ।
विगतमा पनि नेपाली कांग्रेस लगायत दलले सङ्घमा छाया सरकार गठन गरे पनि रास्वपाले भने स्थानीय तह अर्थात् वडाबाटै छाया सरकारको अभ्यास गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाको भनाई छ । ‘सङ्घीयताको सुन्दर पक्ष भनेकै स्थानीय तह हो । सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने स्थानीय तह नै अव्यवस्थित र भ्रष्ट छ । उत्तरदायी र अनुशासित स्थानीय सरकार हुन सकेको छैन‚’ झाले भने‚‘त्यसलाई जिम्मेवार बनाउन हामीले चाहेका हौँ ।’
नेपालमा सामाजिक सञ्जालमा बढी राजनीति भएको र राजनीतिले धरातल छोड्न थालेको भन्दै झाले थपे‚ ‘सामाजिक सञ्जालको स्ट्याटस र कमेन्ट हेरेर राजनीति गरे राजनीति सफल हुँदैन ।’ कार्यविधि कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सबै सदस्यलाई बाँडिसकेको उनले जानकारी दिए । उनले आगामी केन्द्रीय समितिमा कार्यविधि पास गर्ने र राष्ट्रिय भेलाबाट अभियानको रूपमा लन्च हुने बताए ।
‘राष्ट्रिय भेलामा यो अभियानको रूपमा लन्च हुन्छ । अनि एक्सनमा जान्छ‚’ उनले भने ।