ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा ‘श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ?’ भन्नेबारे सर्च गरेको खुलासा भएको छ । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले सोमबार अदालतमा बताएका छन् ।
प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले मास्टर बेडरूम र बाथरूममा भेटिएको रगतको मात्राले ममता काफलेलाई जीवित नहुनेगरी चोटपटक लागेको सङ्केत गर्ने अदालतसमक्ष बताएकी छिन् । यस मामलाका प्रत्येक सङ्केतले ममता अब जीवित नभएको देखिएको र शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने अभियोजकको भनाई छ ।
अभियोजन पक्ष र नरेशका पक्षका वकिलबीच सोमबार श्रीमती बेपत्ता भएको बेला कसरी शव लुकाएको अभियोग लगाइयो भन्नेबारेमा बहस केन्द्रीत भएको थियो । तीव्र जनआक्रोशले उचित प्रमाणविना मुद्दा अगाडि बढाएको नरेश पक्षका वकिलले तर्क गरेका छन् । यो अभियोग लगाउनका लागि मृत शरीर हुनु आवश्यक भएको तर अहिलेसम्म भएको प्रमाण केबल रगतमात्र भएको उल्लेख गर्दै नरेश भट्टका पक्षका वकिल शालेव बेन अब्राहमले सञ्चारमाध्यमको ठूलो उन्माद भएका कारण पक्राउ गरिएको तथा मानसास पार्क प्रहरी प्रमुख केही गर्न दबाबमा रहेको अदालतसमक्ष बताएका थिए ।
अभियोजकले नरेश भट्ट विरुद्धको प्रमाण पर्याप्त रहेको भन्दै थप अभियोगहरू आउन लागेको बताएका छन् । अभियोजक सारा सामीले रगतको मात्रा र सेक्रेट सर्भिसले उपलब्ध गराएको इन्टरनेट खोज इतिहासलाई जोड दिएकी थिइन् । घरमा भेटिएको रगत ममताकै भएको पुष्टी भएको छैन । तर प्रारम्भिक परीक्षणबाट रगत मान्छेको भएको निष्कर्ष निकालिएको छ ।
नरेशका वकिलले नरेश भट्टको भाग्ने कुनै योजना नरहेको दावी गरेका छन् । उनले हालै आफ्नो टेस्ला बेचेका थिए भने घरबेच्ना दुई सम्भावित क्रेतासँग कुरा गरेका थिए । तर गाडी बिक्री र घर बेच्ने प्रयास परिवारको लागि पैसा उपलब्ध गराउनका लागिमात्र रहेको नरेशका वकिलको तर्क थियो ।
अभियोजकका तर्फबाट सोमबार अदालतमा ममता र नरेशबीचको सम्बन्ध समस्याग्रस्त रहेको थप विवरणहरू पनि प्रदान गरिएको थियो । फेब्रुअरीमा घरमा प्रहरी बोलाइएको र प्रहरी अधिकारीहरूले ममतासँग कुरा गर्दा उनका श्रीमान् नरेशले आधिकारिक कागजातहरू नदिने बताएको तथा ममताको फोन नष्ट गरेको बताएको पनि अभियोजक सारा सामीले अदालत समक्ष बताइन् । ममता घरेलु हिंसाको सिकार भएको र उनको पतिसँगको झगडामा चोटपटक लागेको विवरण पनि अभियोजकका तर्फबाट अदालतमा बताइएको थियो ।
साथीहरू र परिवारसँग नियमित रूपमा कुराकानी गर्ने सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता ममताले जुलाई २९ मा आफ्नो फोन प्रयोग गर्न बन्द गरेको र अगस्त १ मा लाउडन काउन्टी नजिकको नेटवर्कमा उक्त फोन जडान भएको अभियोजकले अदालतलाई बताएका छन् । प्रहरीले घरमा खानतलासी गर्दा मास्टर बेडरूममा रगतका निशानहरू फेला परेका तथा बेडरुमबाट बाथरूमसम्म केही घिसारिएको पत्ता लागेको अभियोजकले अदालतमा बताए ।
अनुसन्धानकर्ताहरुले भित्तामा छरिएको र नुहाउने ठाउँको सम्पूर्ण भुइँलाई छोपेको रगतको मात्रा पत्ता लगाएको तथा घटनास्थलमा अनुसन्धानकर्ताहरुले यति धेरै रगत कहिल्यै नदेखेको बताएको अभियोजकले अदालतमा बताएका छन् । प्रहरीले खानतलासी लिंदा कार्पेट सफा गर्ने सामाग्रीहरु बेडरुममा बाहिर नै रहेको र जसमा नरेशले जुलाई ३१ मा खरिद गरेको कार्पेट क्लिनरको खाली बोतल पनि रहेको अभियोजक सामीले बताइन् ।