काठमाडौँ– हरितालिका तीज नजिकिँदै गर्दा सार्वजनिक भएका गीतहरुले आम मानिसको ध्यान खिचिरहेको छ । यस्ता गीतहरुमा प्रयोग भएका भद्दा र उच्छृङ्खल शब्द र भाकाले तीजको मौलिक संस्कृति र मर्ममा नै आँच पुगेको भन्दै आलोचना पनि भइरहेको छ ।
यस्तै आलोचनामा परेपछि शान्ति श्री परियारदेखि प्रीति आलेसम्मका लोक सर्जकहरु विवादमा समेत तानिएका छन् । गायिका परियारले त केही दिनअघि ‘बिस्तराले पोल्यो’ बोलको गीतप्रति माफी समेत मागिन् । यद्यपि केही तीज विशेष केही गीतहरु भने आम/श्रोता दर्शकमाझ लोकप्रिय बनिरहेका छन् ।
आम श्रोता दर्शकमाझ लोकप्रिय बनेर ट्रेण्डिङमा परेका तिनै तीज गीतहरुबारे हामी चर्चा गर्देछौं । यी हुन् हालै ट्रेण्डिङमा परेका तीज गीत:
काली पसम कि
प्रेम सापकोटा ‘सोनु’को प्रस्तुतिमा दुई हप्ताअघि सार्वजनिक भएको ‘काली पसम कि’ गीत अहिले ट्रेण्डिङ नम्बर एकमा छ । हालसम्म तीन मिलियन भ्युज बटुलेको गीतमा गायिका शान्ति श्री परियारको स्वर समावेश छ भने शब्द रचना सापकोटाकै रहेको छ ।
वैवाहिक जीवनपछि विवाहित महिलाहरुले भोगेको घरेलु हिंसामा आधारित रहेर गीत रचना गरिएको छ । गीतमा प्रयुक्त मार्मिक शब्द, लय र स्वरले गीतलाई उत्तिकै उत्कृष्ट बनाएको छ नै कलाकार स्मारिका ढकालको अभिनयले दर्शकको मन छुन्छ ।
गीतमा जोन बम ठकुरी लगायत कलाकारहरुको समेत अभिनय रहेको छ । गीतको भिडियोमा कथा, कोरियोग्राफ तथा निर्देशन जेरी भण्डारीको रहेको छ भने सम्पादनमा नवीन घर्तीमगर र छायाङ्कन राजेश घिमिरेको रहेको छ ।
यो गीत केही समयअघि रिलिज भएको फिल्म ‘बोक्सीको घर’ मा समावेश ‘बुझिनँ मैले’ बोलको भिडियोबाट प्रभावित भएको भनेर विवाद समेत भयो ।
पीर कल्लाई छैन र
अस्मिता डल्लाकोटीको प्रस्तुतिमा तीन दिन अघि सार्वजनिक भएको ‘पीर कल्लाई छैन र’ गीत अहिले ट्रेण्डिङ नम्बरमा दुईमा छ । प्रस्तोता अधिकारीकै शब्द र स्वरमा रहेको गीतमा हालसम्ममा सात लाख भन्दा बढी भ्युज बटुलेको छ ।
गीतमा सुखदुःख सबैको जीवनमा छ, पीर र दुःख सबैमा भएपनि रुन हुँदैन, अरुको अगाडि रुनुभन्दा खुसीले बाँच्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ । प्रकाश पराजुलीको सङ्गीत रहेको गीतको भिडियोको कोरियोग्राफ र निर्देशन काजिश श्रेष्ठले गरेका छन् ।
त्यस्तै, सम्पादनमा नवीन घर्तीमगर र छायाङ्कनमा बुद्ध थापा छन् । गीतको भिडियोमा शक्ति कुमार गोदार, सम्झना थापा, राममाया गोदार लगायत कलाकारहरुको अभिनयले भिडियोलाई निकै सुन्दर बनाएको छ ।
मै लुरी
प्रभात अधिकारीको प्रस्तुतिमा दुई हप्ताअघि सार्वजनिक भएको ‘मै लुरी’ गीत अहिले ट्रेण्डिङ नम्बर तीनमा छ । गीतले हालसम्ममा साढे दुई मिलियन भ्युज बटुलिसकेको छ ।
पशुपति शर्मा र प्रिया भण्डारीको स्वर समावेश भएको गीतको शब्द रचना तथा सङ्गीत गायक शर्माले नै गरेका छन् भने सङ्गीत संयोजन विश्वास नेपालीको रहेको छ । शारीरिक, आर्थिक, सामाजिक कमजोरीका कारण हेयमा परेको पीडालाई गीतमा प्रस्तुत गरिएको छ ।
आकर्षक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । भिडियोको सम्पादनमा मनोज कार्की, छायाङ्कन नवराज उप्रेती र कोरियोग्राफमा हिमाली नै छन् । गीतको भिडियोमा गायक शर्मासँगै जुना विश्वकर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
मन परेको मान्छे
लोक तथा आधुनिक गीतमा आफ्नो पकड जमाएकी अहिलेकी व्यस्त गायिका एलिना चौहानको प्रस्तुतिमा दुई हप्ताअघि सार्वजनिक भएको ‘मन परेको मान्छे’ अहिले गीत अहिले ट्रेण्डिङ नम्बर सातमा छ ।
नवविवाहित महिलाले चाहेकै जस्तो घरबार पाएको भाव गीतमा समावेश गरिएको छ । चौहानकै स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द रचना र सङ्गीत दीपक शर्माको रहेको छ । गीतले हालसम्ममा झण्डै दुई मिलियन भ्युज बटुलेको छ ।
बिक्रम चौहानको कोरियोग्राफ र निर्देशन रहेको भिडियोमा अंजली अधिकारी लगायकातका कलाकारहरुको अभिनय रहेको छ । भिडियोको सम्पादनमा मिनल विश्वकर्मा र छायाङ्कनमा प्रकाश खड्का रहेका छन् ।
थोरै थोरै लाज
कृष्णबहादुर क्षेत्री र दुर्गाबहादुर क्षेत्रीको प्रस्तुतिमा दुई हप्दाअेभि सार्वजनिक भएको तीन गीत ‘थोरै थोरै लाज’ अहिले ट्रेण्डिङ नम्बर १५ मा छ । रमेश क्षेत्रीको शब्द रचना रहेको गीतमा स्वर शान्ति श्री परियारको स्वर रहेको छ ।
गीतमा सङ्गीत भने ऋषि खड्काको रहेको छ । किशोरी युवतीको प्रेम मनोभावनालाई समेटिएको गीतमा अंजली अधिकारी, स्मारिका ढकाल र बिमल अधिकारीको दमदार अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोमा मौसम हिमालीको निर्देशन, मनोज कार्कीको सम्पादन र करण चैसिरको छायाङ्कन रहेको छ । गीतलाई नौ लाख पटकभन्दा बढी हेरिएको छ ।