चितवन , बैशाख २४ – चितवनको कालिका नगरपालिका १० सिद्दिमा रहेको सिद्दी छात्रावासमा फेरि खाद्यान्न , तरकारी लगायतको दैनिक उपभोगका सामानको समस्या परेको छ । छात्रावासमा भण्डारण गरेको चामल , तेल , तरकारी लगायतको दैनिक उपभोग्य सामाग्री सकिदै गएपछी छात्रवासमा रहेका बालबालिकाहरु भोकमरीको समस्यामा परेका हुन । चितवनको विभिन्न बिकट क्षेत्रमा जन्मिएर गरिबी , पारिवारिक समस्याले शिक्षा आर्जन गर्न नसकेका ६५ जना बालबालिका केही बर्ष देखि सोही छात्रावासमा बसेर नजिकै रहेको विद्यालयमा पढने गरेका भएपनि खाद्यान्नको अभाबमा भोकै बस्नु पर्ने अबस्था सिर्जना भएको हो ।
छात्रावासमा रहेका विद्यार्थी बालबालिकाहरु अन्तिम परीक्षा दिएर केही छात्रवासमै बसेका र केही आफन्त कहाँ केही दिन बसेर छात्रबास फर्किएको केही दिनमै खाद्यान्नको अभाव भएको छात्राबासका प्रमुख भरत चेपाङले बताउनु भयो । ६५ जना बालबालिकाका लागि दैनिक एक बोरा चामल र अन्य खाद्यान्न चाहिन्छ तर बिगत केही दिन देखि कतै बाट पनि सहयोग प्राप्त नभएको र भण्डारमा भएको सामान पनि सकिएकाले अबका दिन भोकै बस्नु पर्ने अबस्था सिर्जना भएको उहाँको भनाइ छ । अहिलेकै अबस्थामा चामल मात्र पाए पनि नुन सग खोले बनाएर भए पनि बालबालिका बचाउनु पर्ने अबस्था सिर्जना भएकोले सहयोगका लागि विभिन्न क्षेत्रमा अपिल गरेको दुखेसो ब्यक्त गर्नु भयो । छात्रावासमा खाना पकाउने दाउरा समेत नभएपछी विद्यालयको बिदाको समय मिलाएर जङ्गल बाट दाउरा ल्याएको तर पकाउने चामल , तरकारी नै नभएकाले आफुहरु समस्यामा परेको छात्रावास प्रमुख चेपाङको भनाइ छ ।
” बाबुनानीहरुको पेट भराउनको लागि धौ धौ भएको छ , हामी संग अहिले मासिक बार्षिक सहयोग गर्नु हुने सहयोगी दाता नहुदा धेरै समस्या मा परेको छौ।” उहाँ बताउनु हुन्छ । सो छात्रावासमा कक्षा १ देखि १० कक्षा सम्म पढने ६५ जना बालबालिकाहरु आफैले खाना बनाएर खाने गरेका छ्न ।