चितवन , भदौ १८ – समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान अन्तर्गत कंचनपुरको गड्डाचौकी बाट सुरु भएको मेची-महाकाली जागरण यात्रा चितवन आइपुगेको छ ।
देशभित्र बढ्दो गरिबी, बेरोजगारी, भ्रष्टाचार र सामाजिक अन्यायविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित सुरु गरिएको हो । अभियानले देशका प्रमुख शहरका विभिन्न स्थानमा जागरुक यात्रा तथा बिबिध कार्यक्रम गर्दै मेचीसम्मको यात्रामा गर्ने जनाएको छ ।
यात्राको क्रममा विभिन्न शहरमा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, युवामा आत्मनिर्भरता र उत्पादनमुखी अर्थतन्त्रप्रति जागरण फैलाउने योजना रहेको जनाएको छ । अभियानले धरानमा नगर प्रमुख हर्क साम्पाङसँग भेट गर्ने र श्रमदान कार्यक्रममा सहभागी हुने तयारी पनि गरेको अभियानका संयोजक प्रेमराज भट्टले बताए ।
संकल्प अभियानले विखण्डित वैकल्पिक शक्तिलाई एउटै मञ्चमा ल्याउने, नयाँ पुस्तालाई नेतृत्वका लागि अघि सार्ने र आम नागरिकलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्य लिएको जनाएको छ ।
यसैबिच भोलि बिहिवार बिहान जागरण अभियान अन्तरगत नारायणगढको पुल्चोकमा चितवनका आम नागरिक तथा पत्रकारहरु सग भेटघाट गर्ने तथा अभियानका बारेमा जानकारी दिने कार्यक्रम राखिएको अभियानका अगुवा गणेश शाहाले बताए ।