काठमाडौं । सरकारले थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीका संरचनाहरू भत्काएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार, बस्ती पूर्ण रूपमा खाली भएको छ ।
थापाथली क्षेत्रमा बसोबास गर्दै आएकामध्ये आफू घरवारविहीन भएको भन्दै ६ वटा परिवार मात्रै सम्पर्कमा आएको सरकारले बताएको छ ।
६ परिवारका सदस्यहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगिएको छ । रंगशालामा उनीहरूको ‘स्क्रिनिङ’ गरेर बसोबासको प्रवन्ध मिलाउने सरकारले बताएको छ ।
सरकारले शनिबार बिहानबाट बस्तीका टहरा हटाउन थालेको थियो । त्यसअघि आफैं स्थानान्तरण गरेर जान चाहनेलाई प्रहरी समन्वय गरेर गन्तव्यमा पुगेका थिए ।
प्रहरीले दिएको जानकारी अनुसार, रंगशालामा १२–१३ जना व्यक्ति मात्रै घरवार विहीन भएको भन्दै सम्पर्कमा आएका छन् ।

