चितवन, वैशाख २६– काठमाडौबाट बिगत ७ दिनदेखि बेपत्ता भएकी चितवनकी स्नेहा पशुपतिमा फेला परेकी छन् ।पारिवारिक स्रोतका अनुसार उनी आज फेला परेकी हुन् । तर, उनको बारेमा सबै जानकारी परिवारले दिएको छैन ।
चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी स्नेहा लामिछाने काठमाडौँ कलंकी मामाघरमा बसेर कम्प्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टर सगरमाथा इञ्जिनियरिङ कलेजमा पढ्दै थिइन् । २२ वर्षीय उनी वैशाख १९ गतेबाट बेपत्ता भएकी थिइन् ।
स्नेहा हराएपछि उनको परिवार र आफन्तजनहरु खोजीमा जुटेका थिए । स्नेहाको काका दिपक लामिछानेका अनुसार वैशाख १९ गते उनी मामाघरमा हजुरआमा निदाएको समयमा घरबाट कलेज व्याग बोकेर कलंकी खसी बजारतिर लागेकी थिइन् । मामाघरको सानो गल्ली बाटोबाट बिहान ११ बजेर ५७ मिनेट जाँदा कलंकी खसीबजार जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको थियो । कालो पाइन्ट र शर्ट लगाएकी उनी खसी बजारबाट रिङरोड घुम्ने बस चढेको सम्म सीसीटीभीमा देखिएको काका दिपकले जनाएका थिए । उनले एसईई चितवनको सगरमाथा बोर्डिङ र १२ कक्षा न्यू क्यापिटल कलेजबाट उतीर्ण गरेकी हुन् ।

