काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले एक/एक सिट जितेका छन्। काठमाडौँ १ मा रास्वपाबाट रञ्जु दर्शना र मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी भएका छन्। अन्य ६ क्षेत्रमा रास्वपा जित नजिक पुग्दा अन्य स्थानमा पनि फराकिलो मतान्तर बनाइरहेको छ।

काठमाडौँ उपत्यकाका १५ क्षेत्रमध्ये ललितपुर १ बाहेक अन्य सबै स्थानमा रास्वपाको अग्रता छ। तराईँ–मधेश र हाईवे जोडिएका क्षेत्रसहित पहाडी जिल्लाहरूमा पनि रास्वपाप्रति आकर्षण देखिएको छ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्र शाहका कारण रास्वपाप्रति जनआर्षण बढेको देखिन्छ। बालेनले झापा ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४ गुणा बढी मतले लिड गरिरहेका छन्। यहाँ बालेनले ६ हजार ५५१ मत पाउँदा ओलीको मत एक हजार ४२८ मात्रै छ।

चितवन २ मा रास्वपा सभापति रवि लामिछानेले १२ हजारभन्दा बढी मतान्तरले लिड गरिरहेका छन्। उनले १७ हजार ४१२ मत पाउँदा कांग्रेसकी मीनाकुमारी खरेल निकै पछि रहेकी छन्। उनले जम्मा ५ हजार ९३ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका अस्मिन घिमिरेले पाएको मत ५ हजार ३७ रहेको छ।

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ मा एक हजार १३३ मतले पछि परेका छन्। रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले दुई हजार ८४७ मत प्राप्त गर्दा थापाको मत एक हजार १३३ मात्रै छ।

जेनजी आन्दोलनपछि बनेको श्रम संस्कृति पार्टीलाई वैकल्पिक दलका रूपमा हेरिए पनि अध्यक्ष हर्क साम्पाङ नै सुनसरी १ मा पछि परेका छन्। प्रारम्भिक परिणामअनुसार यहाँ रास्वपाकी गोमा तामाङले ४६० मत पाउँदा साम्पाङले १५४ मत मात्रै पाएका छन्।

हालसम्मको मतगणना परिणामअनुसार रास्वपाले नयाँ राजनीतिक चित्र कोरेको स्पष्ट देखिन्छ। रास्वपाले उल्लेखनीय उछाल लिँदै अन्य ठूला दलहरूलाई निकै पछि पारेको छ। अहिलेसम्म  रास्वपाले प्रत्यक्षतर्फ ९३ सिटमा अगाडि छ। यसले रास्वपालाई स्पष्ट रूपमा पहिलो शक्ति बनाएको संकेत गर्छ।

परम्परागत ठूला दलहरू भने दोहोरो अंकका लागि नै संघर्ष गरिरहेको देखिन्छ। कांग्रेसले १० सिटमा अग्रता कायम गरेकोमा एमालेले र नेकपाले ९ क्षेत्रमा अग्रता बनाएको छ। राप्रपा र श्रम संस्कृति एक/एक क्षेत्रमा अग्रता लिएका छन् भने एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार अगाडि छन्।

यसपटकको मधेशवादी दलहरूको प्रभाव भने निकै कमजोर बनेको देखिन्छ। अहिलेसम्मको परिणाम हेर्दा ती दलहरू यसपालि बढारिने खतरा देखिएको छ। विगतका निर्वाचनमा तराई–मधेश क्षेत्रमा प्रभाव जमाएका ती दलहरू यसपटक उल्लेखनीय परिणाम निकाल्न असफल देखिएका छन्।

जसपा नेपाल, जनमत र नागरिक उन्मुक्ति पार्टी जस्ता मधेश-तराई क्षेत्रमा प्रभूत्व जमाएका दलहरूप्रति अहिलेसम्मको परिणाअनुसार कुनै आकर्षण देखिएको छैन।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version