गैंडाकोट, १६ असार ।
सम्पूर्ण किताब नारायणगढले किताब उत्सव गरेको छ । शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनसँगको सहकार्यमा नारायणी किनार गैंडाकोटमा रहेको द नारायणी रिसोर्टमा उत्सव कार्यक्रम गरिएको हो ।

`एक्सपर्ट सम्पूर्ण किताब उत्सव – २०८२´ कार्यक्रममा चितवनको साहित्य र किताब बजारको बेलीबिस्तार गरिएको उत्सवका निर्देशक एवम् सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले बताए ।

उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै सापकोटाले सम्पूर्ण किताब उत्सव किन आयोजना गरियो भन्ने प्रष्ट्याएका थिए । चितवनमा पठन संस्कृतिको विकासका निम्ति लागिपरेका सापकोटाले पठन संस्कृतिको प्रबर्द्धन र चितवन साथै वरिपरिको साहित्यको सम्बर्द्धन गर्नु उत्सवको लक्ष्य रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि लेखक, पत्रकार रेशम विरहीले रमेश प्रभातको निसमालोचना `अरु अलिकति फरक कुरा´, भीमप्रसाद शर्माको `कुण्डलिनी योग´र तिलक न्यौपानेको कवितासङ्ग्रह `शव्दपुष्प´ गरी तीनवटा किताब विमाेचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । विमोचन भएका तीन वटै कृतिका बारेमा बालकृष्ण थपलियाले टिप्पणी राखेका थिए ।

उद्घाटनपछि बोल्दै प्रमुख अतिथि बिरहीले यी उत्सवलगायतका गतिविधिले स्रस्टालाई परिस्कृत बन्न सहयोग पुग्ने बताए । `बहस तथा छलफल कार्यक्रमले स्रस्टालाई सिक्ने अवसर पनि प्राप्त हुन्छ र स्तरीय कृति ल्याउन मद्दत गर्दछ´, उनले भने ।

उत्सवका सह-निर्देशक एवम् एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

पहिलो सत्रमा प्राध्यापक डाक्टर एकनारायण पौड्यालले ‘चितवनको साहित्य : गति र दिशा’ विषयमा प्रवचन दिएका थिए ।

दोस्रो सत्रमा ‘के पढ्छन् बालबालिका ?’ शीर्षकमा अङ्कुरम् एकेडेमीका आशीर्वाद सापकोटा, गैंडाकोट इङ्लिस स्कुलकी अभिश्री कँडेल, किड्स होम एकेडेमीकी रञ्जना बञ्जारा, विश्वप्रकाश माविका आभाष काफ्ले र कर्णबहादुर बानियाँसँग आकाश पौडेलले कुराकानी गरेका थिए । यो छलफलमा बोल्दै बालमनोविश्लेषक बानियाँले विद्यार्थीको उमेर अनुसार उनीहरूको रुचि बुझेर पढ्ने सामग्री दिनुपर्ने बताए । छलफलमा सहभागी विद्यार्थीले आफ्नो विद्यालयमा अतिरिक्त किताब पढ्ने सहज वातावरण भएको बताए । उनीहरूले आफ्नो पुस्तकालयमा आफूले चाहेका किताब भेट्ने गरेको सुनाए ।

शिक्षकले किन पढ्ने ? शीर्षक दिइएको तेस्रो सत्रमा महेन्द्र पौड्याल, सामना पहाड, नवराज कँडेल र बटुकलाल तामाङसँग विपिन पाठकले बहस गरेका थिए । आम शिक्षकले अतिरिक्त किताब पढ्नलाई रुचि नगरेको छलफलमा चर्चा भएको थियो । विद्यार्थीलाई पढाउनुपर्ने विषयमा मात्रै शिक्षक केन्द्रित हुने गरेको छलफलको निष्कर्ष थियो ।

चौथो सत्रमा ‘चितवनको किताब बजार : हिजो र आज’ शीर्षकमा केन्द्रित रही पुस्तक व्यवसायीहरू मास्के पुस्तक भण्डारकी रजनी मास्के, नारायणी पुस्तक सदनका गुरुप्रसाद न्यौपाने सुशील, रचना पुस्तक पसलका महेन्द्र कोइराला र सम्पूर्ण किताबका लेखराम सापकोटासँग पत्रकार सूर्यप्रकाश कँडेलले कुराकानी गरेका थिए । २०६० सालपछि अतिरिक्त किताबको व्यापार बढेको बारेमा छलफल भएको थियो ।

`कता जाँदैछ चितवनको साहित्य ?´ विषयक पाँचौँ सत्रमा एलबी क्षेत्री, उदय अधिकारी, भूपिन र शान्ति शर्मासँग रमेश प्रभातले बहस गरेका थिए । चितवनको समग्र साहित्य लेखनका बारेमा यो बहसमा छलफल भएको थियो ।

उत्सवको अन्तिम सत्र ‘सम्पूर्ण काव्य सन्ध्या’ लाई सिर्जन अविरलले सञ्चालन गरेका थिए । काव्य सन्ध्यामा कविहरू सरला जोशी, विद्या भण्डारी चिराग, प्रकाश चापागाईं, किसान प्रेमी, एकदेव रिमाल, सुरेन्द्र अस्तफल, प्रवीण सन्नाटा, आदर्श सुशील, अञ्जान प्रदीप, माया गुरुङ, पुष्प अधिकारी अञ्जलि, मनोज चौधरी, सरस्वती पौडेल, परिवेश चापागाईं, बिष्णु तिवारी उषा, राधा कोइराला, पदम अर्याल, मेनका चापागाईं, उपेन्द्र त्रिपाठी, अजित उत्सव, उदित सिग्देल र वसन्त पराजुलीले रचना सुनाएका थिए ।

सोही कार्यक्रममार्फत एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनले हरेक वर्ष एक जना श्रस्टालाई साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

एक्सपर्ट एजुकेसन चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हरेक वर्ष प्रदान गर्ने गरी ५० हजार रुपैयाँ राशिको साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् । `एक्स्पर्ट सम्पूर्ण किताब उत्सव २०८२´ को उद्घाटन सत्रमा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले साहित्य क्षेत्रको प्रवर्द्धन र श्रस्टाको सम्मानको लागि पुरस्कार घोषणा गरिएको बताए । उनले हरेक वर्ष `एक्स्पर्ट सम्पूर्ण किताब उत्सव´को उद्घाटनका अवसरमा उक्त पुरस्कार प्रदान गर्ने जानकारी दिए ।

एक्सपर्ट एजुकेसनले आफ्नो वार्षिक उत्सवका अवसरमा हरेक वर्ष २५ हजार रुपैयाँ राशिको शैक्षिक पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आइरहेको छ । शैक्षिक पत्रकारिता पुरस्कार अहिलेसम्म पत्रकार ईश्वर जोशी, रमेशकुमार पौडेल र सूर्यप्रकाश कँडेलले प्राप्त गरिसकेका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version