काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा को को सदस्य रहने भन्ने टुंगो आज लगाइने सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आजै थप दुई सदस्य नियुक्त गरिने उनले बताए । ‘हिजो अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय भयो। अब बाँकी दुई जना सदस्य कसलाई बनाउने भन्ने कुराको टुंगो आजै लगाइँदै छ’, उनले भने ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्छ । जुन समितिमा पूर्वगभर्नरमध्ये एकजना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एक जना सदस्य रहन्छन् । सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिनाअघि नै सिफारिस समिति बन्छ । नाम सिफारिस गर्ने कार्यविधि स्वयं समितिले निर्माण गर्छ । गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिले नेपाल सरकारसमक्ष ३ जनाको नाम सिफारिस गर्नु पर्दछ ।

सिफारिस समितिलाई आवेदन माग गरेर ३ जनाको नाम छनोट गर्ने वा सक्षम व्यक्ति सिधै पहिचान गरेर मन्त्रिपरिषदमा सिफारिस गर्ने अधिकार छनौट समितिलाई दिइएको हुन्छ । समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने ३ जनामध्ये हालका डेपुटी गभर्नरमध्येबाट १ हुनैपर्ने व्यवस्था छ । सिफारिस भएका ३ नाम मध्येबाट १ जनालाई सरकारले गभर्नर पदमा नियुक्त गर्नेछ ।

वर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदै छ । २०७६ चैत २४ गते अधिकारी नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर बनेका थिए । उनको ५ वर्षे कार्यकाल २०८१ चैत २५ गते सकिँदैछ । महाप्रसाद अधिकारीको कार्यकाल पूरा हुँदै गर्दा बजारमा नयाँ गभर्नर को बन्ला भन्ने चर्चा चल्न थालेको छ । उनको कार्यकाल सकिन करिब एक महिना बाँकी छँदै सरकारले नयाँ गभर्नर छान्न सिफारिस समिति बनाएको हो।

राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्चनैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

त्यस्तै, राजनैतिक दलको सदस्य वा पदाधिकारी, वाणिज्य बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालो सूचीमा परेको व्यक्ति, वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी, वाणिज्य बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत वा सो भन्दा बढी शेयर वा मतदानको अधिकार भएको व्यक्ति, ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति, बहुलाएको व्यक्ति वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति गभर्नर लागि अयोग्य हुने उल्लेख छ ।

आगामी गभर्नरका लागि बजारमा जसको छ चर्चा

नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार पनि हो । जसले मुलुकको केन्द्रीय बैंकको रुपमा काम कारबाही गर्ने, नेपाली मुद्राको निष्कासन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा काम गर्ने गर्दछ । पैसामा समेत हस्ताक्षर गर्न पाइने हुँदा गभर्नर बन्न योग्यहरु धेरै लालायित हुने गरेका छन् ।

गभर्नरको प्रमुख दाबेदारहरुमा नेपाल राष्ट्र बैंकका २ डेपुटी गभर्नरहरुसँगै, पूर्वडेपुटी गभर्नरहरु, राष्ट्र बैंककै हाल आसिन र अवकाशप्राप्त कार्यकारी निर्देशकहरु, अर्थविद्हरु, प्रशासकहरु, विभिन्न सरकारी निकायमा कुशल नेतृत्व गरी बाहिरिएकाहरु, सत्तापक्ष निकट विज्ञहरु देखा परेका छन् ।

नेपाल राष्ट्र बैंकको आगामी गभर्नरका लागि प्रमुख दाबेदार हालका डेपुटी गभर्नरद्वय रहेका छन् । हाल राष्ट्र बैंककमा बमबहादुर मिश्र र नीलम ढुंगाना तिम्सिना डेपुटी गभर्नर रहेका छन् । गभर्नर अधिकारी निलम्बन परेको बेला ढुंगानाले कार्यकारी सम्हालेको अनुभव समेत रहेको छ ।

राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी हाल जो केन्द्रीय बैंकका सञ्चालक समेत रहेका छन् उनलाई पनि गभर्नरको दाबेदारको रुपमा हेरिएको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल हाल उच्चस्तरीय आर्थिक सुधार आयोगको संयोजकसमेत रहेका छन् उनलाई पनि गभर्नरको दाबेदारका रुपमा लिइएको छ । पछिल्लो समयमा कांग्रेस एमालेको गठबन्धन सरकार रहेको र दुवै दलले पत्याएका व्यक्तिमा रामेश्वर खनाल रहेको उनको सम्भावना उच्च रहेको छ ।

यस्तै, पूर्वअर्थसचिव डा. राजन खनाल, पूर्वसचिव केशव भट्टराईलाई पनि गभर्नरको दाबेदारको रुपमा हेरिएको छ । पूर्वबैंकर राजनसिंह भण्डारी, पूर्वराजस्व सचिव लालशंकर घिमिरेको नाम पनि चर्चामा रहेको छ । यसैगरी, गभर्नरको आकांक्षीका रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र डा. गुणाकर भट्ट पनि रहेका छन् ।

यसैगरी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र प्रभु बैंकका सीइओ अशोक शेरचन, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीइओ किरणकुमार श्रेष्ठ तथा लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पनि गभर्नरको आकांक्षीका रुपमा रहेको चर्चा हुन थालेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीलगायत पनि चर्चामा छन् । यीबाहेक गभर्नर पदका आकांक्षीमा राष्ट्र बैंककै क्याडर तथा हाल सञ्चालक सदस्य रविन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष विश्व पौडेलको संभावना रहेको छ । राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक रमण नेपाल तथा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री पनि सम्भावित उम्मेदवार मानिएका छन् र

नेपालमा हाल भएका नियामक निकायमध्ये सबैभन्दा बढी स्वायत्त, कानुनी तथा जनशक्ति एवं प्राविधिक रूपमा पनि सक्षम तथा देखिने गरी नियामकको भूमिकामा संलग्न केन्द्रीय बैंक अन्य नियामक निकायभन्दा बढी नै महत्त्वपूर्ण पनि छ।

देशको मौद्रिक नीति निर्माण गर्ने, आर्थिक वृद्धिका लागि आवश्यक मुद्रा बजारमा प्रवाह गर्ने र महँगीलाई सरकारको नियन्त्रणभित्रै राख्ने तीन महत्त्वपूर्ण जिम्मेवारी केन्द्रीय बैंकसँग हुने हुनाले पनि गभर्नर नियुक्ती महत्त्वपूर्ण छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version