काठमाडौं– नेपालका शेयर लगानीकर्ताका लागि यो साता अर्थात् भदौ ९ देखि १३ गतेसम्मको अवधि प्रतिकूल रह्यो । शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२४ अङ्कले घट्दा कूल कारोबार रकम पनि खुम्चियो ।

यो साता कमाउने भन्दा पनि गुमाउने लगानीकर्ता बढी भए । नेप्से तीन हजार बिन्दु आसपास पुगेपछि नाफा बूक गर्ने लगानीकर्ताको संख्या बढी भएकाले सातामा चार दिन शेयर कारोबार हुँदा नेप्से २२४.८९ अङ्कले घट्यो ।

अघिल्लो साताको बिहीबार २९७४.४६ बिन्दुमा रहेको नेप्से सूचक यो साताको बिहीबारसम्म आउँदा २२४ अङ्कले घटेर २७४९.५७ बिन्दुसम्म आइपुग्यो । बुधबार तीन अङ्कले बढे पनि बाँकी तीन दिन भने भारी अङ्कको गिरावट भयो । साताको पहिलो दिन आइतबार ७९ अङ्कले घटेर सुरु भएको शेयर बजार दोस्रो दिन पनि घट्ने क्रम जारी रह्यो ।

सोमबार सार्वजनिक बिदा भएकाले शेयर कारोबार भएन । तर त्यसको पछिल्लो दिन अर्थात् मंगलबार नेप्से १११ अङ्कले घट्यो । बुधबार झिनो अङ्कले नेप्से बढे पनि साताको अन्तिम कारोबार भने पुनः ३६ अङ्कले घटेर बन्द भयो । यो साता नेप्से सूचक न्यूनतम २७२७ र उच्चतम २९९० बिन्दुसम्म पुग्यो । चार दिन अवधिमा दैनिक औषत ५९.२२२ अङ्कले घट्यो ।

नेप्से सूचकसँगै कारोबार पनि घट्न थाल्यो । आइतबार २.६८ प्रतिशतले नेप्से घट्दा १९ अर्ब ४६ करोडको रुपैयाँको भयो भने मंगलबार ३.८६ प्रतिशतले नेप्से घट्दा १८ अर्ब ४६ करोड रुपैयाँको मात्र कारोबार भयो ।

बुधबार नेप्से ०.१३ प्रतिशतले बढ्दा कारोबार भने १३ अर्ब ४९ करोड रुपैयाँको मात्र भयो । साताको अन्तिम दिन नेप्से १.२३ प्रतिशतले घट्दा कारोबार अझ घटेर १२ अर्ब ६ करोड रुपैयाँमा सीमित भयो ।

साताको चार कारोबार दिनमा ६३ अर्ब ४९ करोड ५ लाख रुपैयाँको शेयर किनबेच हुँदा दैनिक औषत दैनिक १५ अर्ब ८७ करोड २६ लाख रुपैयाँ बराबर कारोबार भयो ।

चार दिन अवधिमा १२ करोड ६३ लाख १८ हजार ८२४ कित्ता शेयर किनबेच भएको हो । औषत दैनिक तीन करोड १५ लाख ७९ हजार ७०६ कित्ता शेयर किनबेच भयो । सातामा ७ लाख ५६ हजार ५१४ पटक शेयर किनबेच हुँदा दैनिक औषत एक लाख ८८ हजार ६२८ पटक शेयर किनबेच भयो ।

पछिल्लो केही दिन अवधिभित्र कारोबार केही घटे पनि एक महिना अघिको बजारसँग तुलना गर्दा कारोबार सामान्य भएको पुँजीबजारका जानकार छोटेलाल रौनियार बताउँछन् ।

‘हामीले विगतलाई बिर्सनु हुँदैन । एक महिना अघिको अवस्था हेर्दा पनि अहिले पन शेयर कारोबार सन्तोषजनक नै छ’, रौनियारले भने, ‘सधैँ ३० अर्ब रुपैयाँ हाराहारीमै कारोबार हुनुपर्छ भन्ने छैन ।’

बजार केही दिन करेक्सन भए पनि समग्रमा भने बजार बढ्ने रौनियारको भनाइ छ । ‘बजारमा केही दिन करेक्सन आउन पनि सक्छ’, रौनियारले भने, ‘तर अहिले माहोल राम्रो रहेको छ, बजार बढ्छ ।’

आइतबार सोमबारबाट बजारले पुनः बढ्न सक्ने सम्भावना रहेको लगानीकर्ता सुवासचन्द्र भट्टराई बताउँछन् । ‘बजारले अबको बुलमा एकैपटक ३२ अङ्क पार त नगर्ला, तर पाँचपटक चाहिँ लगाउँदैन, ३ पटकमा बजारले ३२ सय बिन्दु पार गर्छ’, भट्टराईले भने ।

आइतबार या सोमबारदेखि बजार बढेर ३१ सय बिन्दुमा पुगेपछि पुनः करेक्न नै आउनसक्ने भट्टराईको भनाइ छ । त्यसपछि बजारमा २८ सयको बिन्दुसम्म करेक्सन आउनसक्ने र फेरि माथि जाने प्रक्षेपण उनले सुनाए ।

नेपालको बजारमा उधारोमा कारोबार हुने गरेको कारणले अहिलेको बजार घटेको शेयर विश्लेषक अम्बिका पौडेलको भनाइ छ । ‘उधारोमा कारोबार हुँदा ब्रोकरले बेच्नका लागि दबाब दिने गर्छन्’, पौडेलले भने, ‘त्यसले गर्दा बजार पनि घट्छ र कारोबारमा पनि कमी आउँछ, अहिले भएको त्यही हो ।’

यो समस्या केही दिनमा समाधान हुने पौडेल बताउँछन् । ‘कारोबारको सेटलमेन्ट यो सातामा समाधान हुन्छ’, पौडेलले भने, ‘त्यसपछि बजार र कारोबार दुवै बढ्छ ।’

अहिले बजारको घटाइ करेक्सन नै भएको लगानीकर्ताको भनाइ छ । इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुलसीराम ढकाल पनि अब बजार बढ्ने बताउँछन् । छोटो समयमा बजार धेरै बढेकाले अहिले करेक्सन आएको उनको तर्क छ ।

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे पनि अहिले बजारको घटाइ करेक्सन मात्र भएको बताउँछन् । घटेको बजारमा शेयर खरिद गर्नुपर्ने र अहिलेको बजार किन्ने मौका भएको पाण्डेको भनाइ छ । ‘अहिले बजारमा शेयर किन्ने समय भएको हो, हामीले पनि किनिरहेका छौँ’, पाण्डेले भने, ‘अब बजार बढ्छ भन्ने नै हो ।’

एक ब्रोकर कम्पनीका सीईओ अनुसार बढेको बजारमा ३० प्रतिशत घटेपछि बजार माथि उठ्ने संसारभरको नियम नै रहेको बताउँछन् । अहिले ठूला लगानीकर्ताहरू पनि ४०–५० करोड लिएर शेयर बजारमा प्रवेश गरिरहेको कारणले गर्दा पनि अब बजार बढ्ने ती सीईओको भनाइ छ ।

‘तीन हजार बिन्दुमा पुगेको बजारमा ३० प्रतिशत घट्नु भनेको त्यही २७ सय बिन्दुमा आउनु भन्ने हो, त्यो आएको अवस्था छ’, ती सीईओले भने, ‘अब बजार आइतबार या सोमबारदेखि बजार बढ्छ ।’

अहिले आफुसँग भएको शेयर बेच्न नहुने सुझाव दिँदै उनले बजारले ३३ सयको बिन्दु पार गरेपछि मात्र बुल मार्केट सुरु हुने दाबी गरे ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version