काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिलाई लिएर विशेषगरी सेयर लगानीकर्ताहरुमाझ विभिन्न खालका राय बाझिन थालेको छ ।
केही लगानीकर्ताहरुले सेयरबजार उकास्ने खालको नीति आएको बताएका छन् भने केही लगानीकर्ताहरुले सोचेजस्तो मौद्रिक नीति नआएको भनाई व्यक्त गरिरहेका छन् । समग्रमा चालु आवको मौद्रिक नीतिको विषयमा लगानीकर्ताहरुबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।

मौद्रिक नीति २०८१/८२ मा सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरिएको छ । साथै ब्रोकरमार्फत मार्जिन लेन्डिङ गराउने नीति अवलम्ब गरिएको छ । संस्थागततर्फ २० करोडको सीमा खारेजपश्चात् बजारमा ठूलो रकम भित्रिने अनुमान गरिएको छ ।

साथै बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गर्ने र नीतिगत कर ५.५ प्रतिशतबाट ५ प्रतिशतमा घटाइएको छ । यसले बैंकहरुको ऋण लगानी क्षमता बढ्ने देखिन्छ । यसका साथै जोखिम भार पुनरावलोकन हुने, भविष्यमा घट्न सक्ने देखिन्छ ।

समग्रमा मौद्रिक नीति सन्तोषजनक देखिएको छ । चार सातादेखि सेयरबजार बुलिस ट्रेन्डमा चलेको छ । मौद्रिक नीतिको पखाईमा बसेका लगानीकर्ताहरुले मौद्रिक नीतिले आगामी बजारको यात्रा तय गर्ने बताउँदै आएका थिए ।

नेप्से बढेपछि नयाँ लगानीकर्ताहरु बजार प्रवेश गरेका छन् । बजारमा नयाँ रकम भित्रिएको छ । मौद्रिक नीति ठूला लगानीकर्तासँगै साना लगानीकर्ताहरुमा पनि चासोको विषय बन्न थालेको छ । बजारमा आफुले गरेको जतिसुकै सानो लगानी भएपनि त्यो लगानीले प्रतिफल पाउँछ वा पाउँदैन भन्ने कौतुहलता सबैमा हुन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले समग्रमा पुँजीबजार सुधार्न सक्ने अधिकांश लगानीकर्ताहरुले अनुमान लगाइरहेका छन् ।

विशेषगरी अहिले सामाजिक सञ्जालहरुमा मौद्रिक नीतिको विषयमा लगानीकर्ताहरुले स्टाटस पोष्ट्याएको देखिन्छ । विजशालाले फेसबुकमा रहेका सेयरबजार सम्बन्धी ग्रुपहरुमा सेयर लगानीकर्ताहरुले मौद्रिक नीतिलाई लिएर कस्ता खालका धारणा व्यक्त गरिरहेका छन्, भन्ने सर्वेक्षण तयार पारेको छ ।

समग्रमा साना लगानीकर्ताहरु मौद्रिक नीतिलाई लिएर उत्साहित बनेका छन् । अधिकांशले संस्थागततर्फको २० करोडको सीमा खारेजपश्चात् अब बजारमा बुम आउने अनुमान लगाइरहेका छन् । तर केहीले भने २–४ दिन बजार सम्हालिएर मात्र बजार लयमा फर्किने धारणा व्यक्त गरेका छन् ।

फेसबुकको एक सेयर बजारसम्बन्धी ग्रुपमा कान्छो भाइ नाम गरेका एक लगानीकर्ताले अब आइतबार पोजेटिभ सर्किट कि नेगेटिभ सर्किट विश्लेषकज्युहरु ? भन्ने प्रश्न गर्दै स्टाटस पोष्ट गरेका छन् । उक्त पोष्टमा प्रतिक्रिया दर्साउँदै राज कंडेल नाम गरेका लगानीर्का लेख्छन्, ‘१५ करोड माथिको सेयर किन्ने हैसियत भएकाहरु संस्थागतमा पनि आवद्ध हुन्छन, उनीहरुलाई व्यक्तिगत सीमाले केही असर गर्दैन । यहाँ हल्ला गर्नेहरु १५ लाखको किन्न सक्ने मुटु भएका १ प्रतिशत पनि छैनन्, त्यसैले सके थपौं नभए आफ्नो कित्ता जोगाएर राखौं । धन्यवाद ।’  

सोही पोष्टमा गोले विक नाम गरेका अर्का लगानीकर्ताले व्यङ्ग्यात्मक पारामा प्रतिक्रिया दिएका छन्, ‘सुरुमा बुम बुम अनि केही बेर पछि प्लुम ।’

त्यस्तै, ऋषिराज पोखरेल नाम गरेका अर्का लगानीकर्ताले भने मौद्रिक नीति समग्रमा सन्तोषजनक आएको बताउँदै प्रतिक्रिया दिएका छन् । उनले लेखका छन्, ‘नेगेटिभ सर्किट लाग्ने कुनै न्यूज छैन । संस्थागतको २० को क्याप हटेको छ र बैंकले दैनिक सेयर किनबेच गर्न सक्ने जस्ता कुराले आइतबार मार्केट बुम हुन सक्छ ।’

त्यस्तै, बसन्त नेपाल नाम गरेका अर्का लगानीकर्ताले भने अब बैकिङ सेक्टरले बजार सम्हालेर सबै समूहलाई माथि लैजान सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।  

कान्छो भाई नाम गरेका लगानीकर्ताले उत्सुकता दर्साउदै प्रश्न गरेको  उक्त स्टाटसरमा अधिकांशले आगामी दिनमा बजारमा पोजेटिभ सर्किट लाग्ने अनुमान लगाएका छन् ।  

त्यस्तै, सेयरबजारसम्बन्धी नै अर्को एक ग्रुपमा प्रकाश इयर नाम गरेका एक लगानीकर्ताले लेखेका छन्, ‘मौद्रिक नीतिको क्षमता भन्दा धेरै बढिसकेछ बजार ! सम्हालिएर अघि बढ्नुपर्ने ठाउँमा छौं हामी ।

सोही पोष्टमा प्रतिक्रिया दिदै आकाश चौलागाई नाम गरेका लगानीकर्ताले लेखेका छन्, ‘ठूला लगानीकर्ताहरूलाई मौद्रिक नीति कस्तो आउँछ भन्ने कुरा पहिले नै थाहा भइसकेको हुन्छ । उनीहरुले पहिले लगानी गरिसकेका हुन्छन् । जसका कारण मार्केट ३००÷४०० अंक बढाईसकेका छन् । हामीजस्तो बुम बुम र बमबम भनेर कहिले बस्दैन । अवसर हेरेर बेच्न तयार हुन्छन् । संस्थागत लगानीकर्ताले भोलि नै ऋण पाइहाल्ने पनि होइनन् । हामी उफ्रेको जस्तो उनीहरु कच्चा तरिकाले काम गर्दैनन् । मार्केट अन्ततः बुलिस ट्रेण्डमै जाने हो । तर यति हतारमा पनि जाँदैन जति हाम्रो मनोभाव छ ।

त्यस्तै, बैंक बुल भन्ने नाम गरेको एक लगानीकर्ताले भने ‘मौद्रिक नीति त सिमेन्टी (निर्माण)मुखी पो भयो है । हिजो सिमेन्ट फालेर लघुवित्त तिर सारेको दशा लागेछ ।’ भन्दै ठट्यौली पारामा चिन्ता समेत व्यक्त गरेका छन् ।  

आइतबार सेयरबजारमा उच्च अंकको वृद्धि आउने संकेत गर्दै राजेन्द्र फुयाल नाम गरेका एक लगानीकर्ता लेख्छन्, ‘बेच्नलाई लास्टै हतार गरिएछ । तनाव भो ! अब किन्ने कि के गर्ने ? सोही स्टाटसलाई मध्यनजर गर्दै दिनेश आचार्य नाम गरेका एक लगानीकर्ताले बजार सधैं नबढ्ने र ४/५ दिनपछि फेरी करेक्सन आएपनि किन्ने मौका मिल्ने प्रतिक्रिया दर्शाएका छन् ।  

त्यस्तै, नाम उल्लेख नभएका एक लगानीकर्ताले भने ‘केही समय बजार हेर्न लायक हुने र बैंक अनि केही सीमित हाइड्रो राम्रै हुने देखिन्छ । उत्पादन तथा प्रशोधन समूहका कम्पनी पनि राम्रै हुनेछ करिब ३ महिना पछि बजार पुनः ओरालो यात्रा हुनेछ । धन्यवाद ।’ भनेर स्टाटस पोष्ट गरेका छन् ।  

यता मौद्रिक नीति साना लगानीर्ताका लागि खासै उपलब्धीपूर्ण नभएको बताउँदै अर्जुन पौडेल नाम गरेका लगानीकर्ता लेख्छन्, ‘हामी जस्ता साना लगानीकर्ताका लागि खासै फलदायी देखिएन यो मौद्रिक नीति–तातो न छारो ।’  

उनको पोष्टलाई बुल हिटर नाम गरेका लगानीकर्ताले भने ‘आफ्नो स्क्रिप्ट, आफ्नो कम्पनीको बोनस र डिभिडेन्ड दिने क्षमता वृद्धि हुनुपर्यो । पोलिसीले नाप्ने केही हैन होला । क्यापिटल गेन आफैं हुन्छ ।’ भन्दै प्रतिक्रिया दिएका छन् ।  

साथै प्रदिप कुँवर नाम गरेका एक लगानीकर्ता भने अब बजार अब बुलिस यात्रामा जाने दाबी गर्दै लेख्छन्, ‘१० कित्तेहरु अब जति नै भुकुन् संस्थागत पूँजी बजारमा आउने भएसि बजारलाई बढ्न कुनै माइकालालले रोक्न सक्दैन ।’  

सोही ग्रुपमा श्रेष्ठ श्रेष्ठ नाम गरेका अर्का लगानीकर्ता भने मौद्रिक नीतिप्रति खासै सन्तुष्ट देखिएनन् । उनी लेख्छन्, ‘आईतबार मार्केटले नेगेटिभ सर्किट हानेन भने म बुझ्छु कि मैले मार्केट बुझेकै छैन रहेछु ।’  

उनको सोही पोष्टलाई लिएर अधिकांश लगानीकर्ताले मौद्रिक नीति सन्तोषजनक आएको र बजारमा अब बुम आउने खालका प्रतिक्रिया दिएका छन् ।  

त्यस्तै, सुरेन्द्र महर्जन नाम गरेका अर्का लगानीकर्ता भने मौद्रिक नीतिप्रति सन्तुष्ट रहेको देखिन्छन् । उनले लेखेका छन्, ‘नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले जाँदाजाँदै मुलुकको अर्थतन्त्रको ऐनाको रुपमा लिईने पूँजी बजारलाई लगानीमैत्री क्षेत्रका रुपमा विकास गर्न संस्थागत लगानीकर्ताहरूका लागि लगाईएको २० करोडको सिमा खारेज गरेर अत्यन्त सेयर लगानी मैत्री निर्णय गर्नु भएकोमा उहाँलाई मुरि मुरि धन्यवाद छ ।

मौद्रिक नीति मार्फत सेयर लगानीकर्ताहरुको गिरेको मनोबल उकास्न सफल भएको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति हालसम्मकै लगानीमैत्री एवं उत्साहित भएकाले मौद्रिक नीति स्वागत योग्य छ । नेप्सेको अबको उडान गतव्य ४ हजार विन्दुमाथि पुग्ने निश्चित भएको छ । जय होस् ! जय नेप्से !

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version