वीरगञ्ज, (पर्सा)- वीरगञ्ज महानगरपालिका-१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिदै छिन्।

उनका पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३-०१-०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झन्झन् नाजुक बन्दै गइरहेको छ।

‘छोराले चलाएको बस बगाएको खबर सुनेदेखि परिवारका सबै सदस्य विक्षिप्त छन्। त्यसमा पनि बुहारीको स्वास्थ्य अवस्था साह्रै खराब भइरहेको छ,’ जवाहीरका ६६ वर्षे पिता भगवान् महतोले गहभरि आँसु पार्दै भने, ‘बुहारी भक्कानिएर रुने, कराउने गरिरहेकी छन्। उनको स्वास्थ अवस्था बिग्रिएकाले घरमै डाक्टर बोलाएर उपचार गराउँदै आएका छौंँ।’

जवाहीरकी पत्नी प्रतिमा अहिले कोहीसँग पनि दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा छैनन्। ‘त्यस दिनदेखि मुखमा अन्न, पानी परेको छैन। स्लाइनपानीकै भरमा कतिन्जेल बचाउन सकिएला ? बुहारीको स्वास्थ अवस्था बिग्रँदै गइरहेको छ,’ उनले भने।

जवाहीरका पत्नी प्रतिमा मात्रै होइन, जवाहीरका बुबा, आमा, छोराछोरी, आफन्त इष्टमित्र र छिमेकीहरुको समेत आँखा ओभाएका छैनन्। ‘जवाहीर घरकै आडभरोसा थियो। उसले बस चलाएर नै घरखर्च चलाउँदै आइरहेको थियो,’ बुबा भगवानले भने, ‘छोरा त्रिशूलीको पहिरोमा परेर हराइरहेको छ। मलाई बुढ्यौलीले छोइसक्यो। अब यी ससाना नाति-नातिनालाई कसले पालनपोषण र रेखदेख गर्ला भन्ने चिन्ताले सताइरहेको छ।’

पहिरोमा परेर आफ्नो माइलो छोरा हराइरहेकामा आमा फुलेनादेवीको रुदाँरुँदै आँखा सुन्निएको छ। आफ्नो छोराका बारेमा अहिलेसम्म कुनै पनि खबर थाहा नपाउँदा निकै चिन्तित भएको बताए।

‘बिहीबार बेलुकापख छोरासँग खासै धेरै कुराकानी भएन। त्यो दिन छोरा बुबासँग मात्रै कुराकानी गरेर बिदा भएर बस चलाउन गए,’ उनले भने, ‘अहिलेसम्म छोराको न त श्वास नै पाउन सकेका छौँ, न त लास नै पाउन सकेका छौंँ। पहिरोमा छोरो हराएदेखि मेरो मन बेचैन छ।’

उनले आफ्नो छोरा पहिरोमा हराएपछि सान्त्वना दिनका लागि एञ्जल बसका प्रतिनिधि, स्थानीय नेता, सांसद तथा अन्य कोही पनि नआउँदा दुःख झनै बढेको बताए। ‘छोराले फर्निचर चलाउने भन्दै ५० लाखभन्दा धेरै कर्जा लिएको छ,’ उनले भने, ‘छोरा नै नरहेपछि कर्जा कसरी तिर्ने भन्ने पीरले अर्काे चिन्ता थपिरहेको छ।’

बुबाका अनुसार जवाहीर डेढ दशकदेखि सवारीसाधन चलाउँदै आएका थिए। जवाहीरले एञ्जल डिलक्स बस चलाउन थालेको पनि चार-पाँच वर्ष भइसकेको छ। उनले प्रायः रात्रिबस चलाउँदै आएका थिए।

जवाहीरका दुई छोरा र एक छोरी रहेकी छन्। जेठी छोरी प्रिती कक्षा आठमा अध्ययनरत छिन्भने जेठो छोरा कक्षा ४ र कान्छो छोरा बिटु युकेजीमा अध्ययनरत छन्। १३ वर्षीय छोरी प्रिती महतोले आफ्नो बुबाको जतिसक्दो छिटो उद्धार गरिदिन अनुनय गरेकी छन्।

‘बुबालाई जतिसक्दो छिटो पानीबाट निकालिदिनूस्। अरू हामीलाई केही चाहिएको छैन,’ उनले भनिन्।

जवाहीरका कान्छो भाइ मुन्ना महतो अहिले हराइरहेका दाजुको खोजीमा नारायणगढ–चितवनमा खटिरहेका छन्। आज दिउँसोसम्म जवाहीरको अवस्था पत्ता लाग्न सकिरहेको छैन। हराइरहेका जवाहीरका दिदी सुशीलादेवी महतोले भाइ पहिरोमा हराएसँगै परिवारको खुसी खोसिएको बताइन्।

भगवानका चार छोरा र एक छोरी छन्। तीमध्ये पहिरोमा परेर हराइरहेका जवाहीर माइलो छोरा हुन्। जेठो सुनिल कतारमा र साइलो हिरालाल मलेसियामा रहेका छन् भने कान्छो मुन्ना नेपालमा नै छन्।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चालकसहित १९ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार एञ्जल बसमा २७ जना यात्रु रहेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले एञ्जल बसमा सवारमध्ये अहिलेसम्म तीन जनाको शव भेटिएर परिवारका सदस्यले सनाखत गरेको बताए। उनले भने, ‘अहिले हामीले बेपत्ताहरुको खोजी कार्यलाई तीव्र पारिरहेका छौँ।’

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version