काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १० महिनामा ५ खर्ब भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका १३ समूहका विभिन्न कम्पनीहरुको वैशाख मसान्तसम्म ५ खर्ब १२ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । गत वर्षको तुलनामा सेयर कारोबार रकम ५४.६१ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिसम्म सूचीकृत कम्पनीहरुको ३ खर्ब ३१ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

माइक्रोफाइनान्स बाहेक सबै समूहका कम्पनीहरुको सेयर कारोबार बृद्धि भएको तथ्याङ्कले देखाएको छ । सर्वाधिक हाइड्रो समूहको १ खर्ब भन्दा बढीको कारोबार भएको छ । वैशाख मसान्तसम्म वैशाखसम्म हाइड्रोपावर कम्पनीहरुको कुल १ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत वर्षको तुलनामा ४७.२२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिसम्म हाइड्रो कम्पनीहरुको सो अवधिसम्म १ खर्ब ३ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । नेप्सेमा कुल ९१ वटा हाइड्रो कम्पनीहरु सूचीकृत छन् । पछिल्लो समय दोस्रो बजारमा दीर्घकालिन लगानीकर्ता भन्दा अल्पकालिन लगानीकर्ता हाबी छन् । बजार जानकारहरुका अनुसार दीर्घकालिन लगानीकर्ताले लाभांश पाउन बढी बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गरेका हुन्छन् भने अल्पकालिन लगानीकर्ताले छोटो समयमा बढी नाफा कमाउन हाइड्रोपावर कम्पनीका सेयरमा लगानी गरेका हुन्छन् । सूचीकृत कम्पनीहरुमध्ये ३६.९९ प्रतिशत हाइड्रोपावर कम्पनीहरु नै छन् । 

पछिल्लो समय बजारमा अल्पकालीन लगानीकर्ता छिर्दा हाइड्रो कम्पनीहरु नै खरिदबिक्रीका लागि छान्ने बजार जानकार प्रेम ओली बताए । बजारमा अन्य समूहको तुलनामा हाइड्रो कम्पनी नै बढी भएकाले कारोबार बढी देखिनु स्वभाविक रहेको ओलीको भनाई छ । ‘बजारमा अहिले कम्पनीको वित्तीय अवस्था भन्दा पनि प्राविधिक विश्लेषण गरेर लगानी गर्नेको संख्या बढ्दो छ, लार्ज क्याप भएका कम्पनी भन्दा बजारमा चर्चामा आउने लो क्याप भएका कम्पनीमा लगानी गर्ने ट्रेन्ड छ’ उनले भने, ‘लो क्याप भएका कम्पनीहरुमा अधिकांश हाइड्रो कम्पनी नै छन्, फेरी हाइड्रोहरुको सेयरभाउ या त झट्टै माथि उकासिने या त तल झर्ने बढी सम्भावना हुन्छ, यसकारण कतिपय लगानीकर्ताहरु रिस्क लिएरै भएपनि सर्ट टर्म लगानीका लागि हाइड्रो नै रोज्छन् ।’ हाइड्रोपश्चात् बजारमा बीमा समूहको पनि सर्वाधिक कारोबार भएको तथ्याङ्कले देखाएको छ । 

चालु आवको १० महिनासम्ममा बीमा कम्पनीहरुको कुल ७८ अर्ब ९९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार गत वर्षको तुलनामा १५५.६४ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिसम्म बीमा कम्पनीहरुको ३० अर्ब ८९ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जीवन बीमा समूहको सेयर कारोबार १५८.४९ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा समूहको सेयर कारोबार १११.५१ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुको वैशाखसम्म कुल ४८ अर्ब ३६ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने निर्जीवन बीमा समूहको ३० अर्ब ६३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जीवन र निर्जीवन बीमा दुबै समूहको कारोबार गत वर्षको तुलनामा बृद्धि भएको देखिएको छ । 

नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुको सेयरभाउ पनि केही महँगो छ । यसका साथै चालु आर्थिक वर्षमा मात्रै जीवन बीमातर्फ ४ वटा जीवन बीमा कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गरी दोस्रो बजारमा कारोबारमा आएकाले पनि कारोबार बृद्धि देखिएको हो । प्रिमियममा आईपीओ जारी गरेका चार जीवन बीमा कम्पनीमा आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलाबयल नेपाल लाइफको सेयर सूचीकृतपश्चात् केही समयसम्म दोस्रो बजारमा सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका थिए । लगानीकर्ताहरुको नजरमा हाइड्रोपछि उक्त ४ जीवन बीमा कम्पनी थियो । यसका साथै लाभांश सिजनमा समेत प्रिमियममा आईपीओ ल्याएका कम्पनी भएकाले सो कम्पनीहरु चर्चामा थिए । आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकमबाट बोनस बाँड्न पाउने हल्लाले सो कम्पनीहरुको निकै कारोबार भएको थियो । यसर्थ गत वर्षको तुलनामा कारोबार बीमा समूहको कारोबार रकम बढ्न पुगेको हो । 

अन्य समूहको कति भयो कारोबार ? 

चालु आवको दश महिनासम्ममा वाणिज्य बैंकहरुको कुल ५२ अर्ब ८७ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम ०.४७ प्रतिशतले बढी हो । गत आवको सो अवधिसम्म १९ वाणिज्य बैंकको कुल ५२ अर्ब ६२ करोड ६० लाख रुपैयाँको कारोबार भएको थियो । गत वर्षको तुलनामा वाणिज्य बैंकहरुको कारोबार खासै बढ्न सकेको छैन । अन्य कम्पनीको तुलनामा बैंकहरुको सेयर ह्वात्तै घटबढ भैनहाल्ने भएकाले कारोबार बृद्धि नदेखिएको हो । साथै यस वर्ष बैंकहरुले लाभांशदर घटाउनु पनि कारोबार रकम खुम्चिुन मुख्य कारण हो । पछिल्ला केही वर्षहरुमा वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्दा बैंकहरुको सेयर कारोबार उच्च हुने गर्दथे । तर पछिल्ला केही वर्षयता बजारमा त्यस्तो रौनक हराउँदै गएको छ । 

यसका साथै उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुको ४७ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो रकम गत वर्षको तुलनामा ८७.०८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म सो समूहका कम्पनीहरुको कुल २५ अर्ब ५९ करोड ८४ लाख रुपैयाँको कारोबार भएको थियो । नेप्सेमा ७ वटा उत्पादन तथा प्रशोधन कम्पनी छन् । त्यस्तै, माइक्रोफाइनान्स समूहको भने कारोबार रकम गत वर्षको तुलनामा ८.२१ प्रतिशतले घटेको छ । गत वर्षको वैशाखसम्म ३९ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको लघुवित्त कम्पनीहरुको चालु आवको १० महिनासम्ममा जम्मा ३६ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेमा ५३ वटा लघुवित्त संस्था सूचीकृत छन् । 

वित्त समूहका कम्पनीहरुको पनि कुल ३४ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो रकम गत वर्षको तुलनामा ५०.०४ प्रतिशतले बढी हो । गत वर्षको सो अवधिसम्म वित्त कम्पनीहरुको २२ अर्ब ८० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यता अन्य समूहका कम्पनीहरुको पनि ३० अर्ब ६५ करोडरुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो रकम १५८.४९ प्रतिशतले बढी हो । गत वर्षको सो अवधिसम्म यो समूहको ११ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो । यो समूहमा हिमालय रि, नेपाल रि, नेपाल टेलिकम, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ जस्ता ठूला कम्पनीहरु छन् । जुन पछिल्लो समय बजारमा सर्वाधिक कारोबार हुने कम्पनी हुन् । 

विकास बैंक समूहबाट पनि सो अवधिसम्म २८ अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो रकम २२.९२ प्रतिशतले बढी हो । गत वर्षको सो अवधिसम्म विकास बैंकहरुको २३ अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यस्तै, लगानी समूहका कम्पनीहरुको पनि कारोबार रकम १०६.७३ प्रतिशतले बृद्धि भएको छ । यस वर्ष यो समूहको कुल २८ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । गत वर्ष १३ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सर्वाधिक होटल तथा पर्यटन समूहका कम्पनीहरुको २७७.३४ प्रतिशतले सेयर कारोबार बढेको छ । गत वर्षमा यो समूहको जम्मा ४ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा चालु आवको सो अवधिसम्म १७ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ ।

 व्यापार समूहको ७३.५५ प्रतिशत र म्युचुअल फण्ड समूहको ६३.२३ प्रतिशतले बढेको छ । व्यापार समूहका कम्पनीहरुको कुल २ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ भने म्युचुअल फण्डहरुको १ अर्ब ४३ करोड रुपैयाँको इकाई कारोबार भएको छ ।

Share.
Leave A Reply

Exit mobile version