नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि राजनीतिमा सक्रिय हुन अनौपचारिक रूपमा निम्तो दिएको छ। नौ वर्षपछि उनलाई एमालेको औपचारिक कार्यक्रममा सहभागी गराएर राजनीतिमा आउन अप्रत्यक्ष निम्तो दिइएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा बुधबार सुरु एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनिन्। भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि र एमाले अध्यक्ष केपी शर्मा ओली विशेष वक्ता थिए। एमाले कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी सहभागी हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ।

एमाले जनसंगठन समन्वय संयन्त्रले पार्टीका २३ वटै जनसंगठनमा रहेका महिलाको भेला आयोजना गरेको हो। जनसंगठन समन्वय संयन्त्रको इन्चार्ज भानुभक्त ढकाल छन्। भेलामा भण्डारीले राजनीतिक सम्बोधन भने गरिनन्।

उनले पेसा, वर्ग, सामुदायिक मुद्दा र राष्ट्रिय मुद्दामा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन महिला अग्रसर हुनुपर्ने बताइन्। महिलाले केवल महिलाको मात्रै विषय नभएर समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अजेन्डाहरूमा पनि नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।

भण्डारीले लैंगिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै सचेतना तथा सशक्तीकरण अभियान पनि महिला र पुरुष दुवैमा लक्षित गर्नुपर्नेमा जोड दिइन्। उनले महिलाविरुद्ध हुने असमानता, विभेद र हिंसाको मूल कारण पुरुष नभएर शोषणमा आधारित सामाजिक र आर्थिक व्यवस्था रहेको औंल्याइन्।

उनी व्यक्तिगत सचेतना वा सशक्तीकरणमा मात्र सीमित नभई महिला मुक्तिको सवाललाई समग्र सामाजिक मुक्ति वा रूपान्तरणको विषयसँग जोड्नुपर्ने बताएर कार्यक्रमबाट बिदा भएकी थिइन्।

भेलामा जनसंगठनका महिला नेताबाहेक पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टी प्रदेश र जिल्ला कमिटीका महिला पदाधिकारी, स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित महिला प्रतिनिधिलगायत पाँच हजारजनाको सहभागिता रहेको एमाले केन्द्रीय सदस्य रचना खड्काले बताइन्।

नेपालको महिला आन्दोलन र महिला अधिकारको लडाइँमा पूर्वराष्ट्रपति भण्डारीको अहम् भूमिका रहेकाले उनलाई कार्यक्रमको प्रमुख अतिथि बनाइएको खड्काले बताइन्।

२०६३ साल जेठ १६ गते एमालेकी तत्कालीन उपाध्यक्षको हैसियतमा भण्डारीकै नेतृत्वमा महिलाको अधिकारसम्बन्धी संकल्प प्रस्ताव पारित भएको थियो। उक्त संकल्प प्रस्तावमा आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुन खारेजी, महिला हिंसाको अन्त्यलगायत विषय थिए। सोही आधारमा एमालेले आयोजना गरेको महिला भेलामा उनलाई प्रमुख अतिथि बनाइएको जिकिर गरिएको छ।

यसअघि पूर्वराष्ट्रपति भण्डारी नेकपा स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा एमालेले आयोजना गरेको बृहद् कार्यक्रममा गणतन्त्र सम्मान लिन गोदावरी पुगेकी थिइन्। दुईपटक राष्ट्रपति बनेकी भण्डारीले आफू राजनीतिमा सक्रिय हुन चाहेको बताइसकेकी छैनन्। तर एमालेका नेतालेले भने उनलाई पार्टीमा सक्रिय गराउन चाहेका छन्।

२०७९ फागुन २९ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि उनले सरकारी सुविधा नलिने घोषणा गरेकी थिइन्। नेपाली सेनाको सुरक्षाबाहेक उनले सरकारी सेवासुविधा लिएकी छैनन्।

३ असोज २०७२ मा संविधान जारी भएपछि ११ कात्तिक २०७२ मा भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन्। त्यसअघि उनी एमाले उपाध्यक्ष थिइन्। दोहोरिएर एमाले उपाध्यक्ष जितेकी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि पार्टीबाट अलग भएपछि उनको सक्रिय राजनीतिमा पूर्णविराम लागेको अनुमान गरिएको थियो।

नेकपा एमाले केन्द्रीय सदस्य एवं जनसंगठन समन्वय संयन्त्र सहसंयोजक रचना खड्काले राष्ट्रिय भेलाले महिलाको चुनौतीको सामना गर्ने योजना बनाउने बताएकी छिन्।

संयन्त्रको आयोजनामा बुधबार सुरु भएको र १७ गते समापन हुन लागेको राष्ट्रिय महिला भेलाबाट नेपालका महिलाको अवस्था कहाँ छ र अब कसरी अघि बढ्ने भन्ने निचोड निस्कने उनको अपेक्षा छ।

‘अहिलेसम्मका हाम्रा उपलब्धि के छन् ? हाम्रा चुनौती के छन् र हाम्रा अबका कार्यभार के हुन् भन्ने कुरा तय गर्न हामीले यो भेला आयोजना गरेको हो,’ उनले भनिन्।

२०६३ साल जेठ १६ गते नेकपा एमालेका तत्कालीन उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य एवं अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा पुनःस्थापित प्रतिनिधिसभाले आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसा अन्त्य गर्ने विषयलाई संसद्को संकल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेला आयोजना गरिएको हो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version