चितवन, वैशाख ११ – नेपालमा वायु प्रदूषणको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको र यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको तथ्यहरु सार्वजनिक भएको छ । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा आयोजित ‘नेपालमा वायु प्रदूषण: वर्तमान अवस्था र प्रभावकारी न्यूनीकरणका उपायहरु’ विषयक कार्यक्रममा विज्ञहरूले सबैलाई सचेत हुन आग्रह गरेका छन । कार्यक्रममा प्रस्तुत अनुसन्धान बिवरणहरुका अनुसार नेपालमा कुनै पनि क्षेत्रका बासिन्दा विश्व स्वास्थ्य संगठन (WHO) ले तोकेको सुरक्षित वायु गुणस्तरको मापदण्डभित्र बसोबास गर्दैनन ।

त्रिभुवन विश्वविद्यालय, पाटन बहुमुखी क्याम्पसका वातावरण विज्ञान विभागका उप-प्राध्यापक डा. नारायणबाबु धितालले सन् २०१९ मा सूक्ष्म कण (PM2.5) को एक्पोजरका कारण मात्रै ४८ हजार भन्दा बढीको अकाल मृत्यु भएको अध्ययनहरुले देखाएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा हुने विभिन्न दीर्घरोगजन्य मृत्युहरूमा वायु प्रदूषणको उल्लेख्य योगदान रहेको छ । तथ्यांकले देखाउँछ कि दम (COPD) बाट हुने ७२.२ प्रतिशत मृत्यु, हृदयघात (IHD) का ४० प्रतिशत, स्ट्रोक (Stroke) का ३८.९ प्रतिशत र फोक्सोको क्यान्सरका ३५.८ प्रतिशत मृत्यु वायु प्रदूषणसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् ।

दक्षिण एसिया विश्वमै उच्च PM2.5 प्रदुषण भएका क्षेत्रमध्ये एक मानिन्छ । शुक्रबार बिहानको  तथ्यांक अनुसार काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (AQI) २४० सम्म पुगेको थियो, जुन दिल्ली र लाहोरभन्दा पनि बढी चिन्ताजनक स्तर हो । अनुसन्धानले सन् १९९८ देखि २०२२ सम्म नेपालमा औसत वार्षिक PM2.5 को स्तर निरन्तर बढ्दो क्रममा रहेको देखाएको छ । विशेषगरी जनवरीदेखि अप्रिल र नोभेम्बरदेखि डिसेम्बरसम्म प्रदूषणको स्तर उच्च हुने गरेको छ । प्रि-मनसुन समयमा हुने डढेलो, सवारी साधनबाट हुने उत्सर्जन तथा घरायसी भान्सामा सुधारिएको चुल्होको अभावलाई प्रदूषणका प्रमुख कारणका रूपमा औंल्याइएको छ । कोभिड–१९ को बन्दाबन्दीका क्रममा नेपालमा वायु गुणस्तरमा आएको सुधारलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै डा. धितालले मानवीय गतिविधि र उत्सर्जन नियन्त्रण गर्न सके प्रदूषण उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो । अध्ययनअनुसार यदि नेपालले WHO को अन्तरिम लक्ष्य–४ (१० µg/m³) हासिल गर्न सकेमा वार्षिक ३० हजारभन्दा बढी वयस्कको ज्यान जोगाउन सकिन्छ ।

कार्यक्रममा बोल्दै क्याम्पसका सहायक प्रमुख गोविन्द पराजुलीले वायु प्रदूषण न्यूनीकरणका लागि सामूहिक सचेतना र पहल आवश्यक रहेको बताउनुभयो । विज्ञान विभाग प्रमुख रविराज सुवेदीले वातावरण संरक्षणमा व्यक्तिगत स्तरबाटै प्रयास सुरु गर्नुपर्नेमा जोड दिनुभयो । सप्तगण्डकी बहुमुखी क्याम्पसको विज्ञान विभागद्वारा आयोजित उक्त कार्यक्रमको सञ्चालन उप-प्राध्यापक ध्रुव आचार्यले गर्नुभएको थियो भने ‘क्लब अफ इन्भायरोन्मेन्ट साइन्स’ (CESS) ले सहकार्य गरेको थियो । कार्यक्रममा वातावरणीय विज्ञान बिषय र ग्रामिण विकास विषयका गरी ३५ जना भन्दा बढी बिद्यार्थीको सहभागिता रहेको थियो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version