चितवन — सप्तगण्डकी बहुमुखी क्याम्पस, विज्ञान संकायको आयोजनामा तथा डिभिजन वन कार्यालय चितवनको सहकार्यमा आयोजित जङ्गल हाइकिङ (जंगल वाक) परिक्षण कार्यक्रम मंगलबार (चैत्र, ३) सफलतापूर्वक सम्पन्न भएको छ। करिब १० किलोमिटर लामो वनमार्गमा सञ्चालन गरिएको उक्त कार्यक्रमले पदमार्गको रुपमा परिक्षण तथा विद्यार्थीहरूलाई व्यवहारिक वातावरणीय शिक्षा दिने उद्देश्य राखेको आयोजकले जनाएको छ।
चितवनको टिकौली गेटबाट सुरु भएको हाइकिङ रत्न नगर नगरपालिकाको पन्चकन्या सामुदायिक वन, कालिमाटी घोल, जमुना घोल, खगेरी नदी क्षेत्र, मणिखोला पार्क, घाँसे मैदान, बायो ड्याम, भिउ पोईन्ट, मचान, नर्सरी तथा वृक्षारोपण क्षेत्र हुँदै विभिन्न दृश्यावलोकन स्थल पार गर्दै कालिका नगरपालिका स्थित चतुर्मुखी सामुदायिक वन गडुवा तालसम्म पुगेको थियो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस मार्गले सहभागीहरूलाई जंगलको वास्तविक स्वरूपसँग प्रत्यक्ष साक्षात्कार गराएको थियो।
कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिम लाल दाहाल, डिभिजन वन कार्यालय चितवनका प्रमुख तथा स्रोत व्यक्ति बिष्णु प्रसाद आचार्य, विभागीय प्रमुख रबिराज सुबेदी, वातावरणीय विज्ञानका उप-प्राध्यापक ध्रुब आचार्य, वातावरणविद् अपिल घिमिरे, प्रोफेशनल टुरिस्ट गाइड सरोज खनाल, राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार सनद अधिकारी, हेर्ने मिडियाका आशिस अधिकारी, सहायक प्राध्यापक सुरज न्यौपाने लगायत सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरू, वातावरणीय विज्ञान. प्रथम, द्वितीय र तृतीय वर्षका ३५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
हाइकिङका क्रममा विद्यार्थीहरूले विभिन्न प्रकारका वनस्पति, जैविक विविधता, नदी प्रणाली तथा वन्यजन्तुको बासस्थानबारे प्रत्यक्ष अवलोकन गरेका थिए। विशेषगरी खगेरी नदी आसपासको पारिस्थितिक प्रणाली र घाँसे मैदान क्षेत्रमा पाइने जैविक विविधताले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रमका स्रोत व्यक्ति बिष्णु प्रसाद आचार्यले वन संरक्षण, जैविक विविधता र दिगो वन व्यवस्थापनका विषयमा जानकारी दिँदै बनलाई जिविकोपार्जन तथा पर्यापर्यटन संग जोड्दै, वन केवल काठ दाउराको स्रोत मात्र नभई सम्पूर्ण पारिस्थितिक सन्तुलनको आधार भएको बताउनुभयो। नेपालको उत्कृष्ट गन्तब्य मध्येको एक सौराहाको विकल्पका रुपमा जंगल सफारी, ईभिनिङ वाकका रुपमा यस मार्गलाई परिक्षणका रुपमा सुरु गरिएको, भबिश्यमा कृष्णसारको बासस्थानको रुपमा परिकल्पना गरिएको समेत जानकारी गराउदै, उहाँले वन संरक्षणमा स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
हाइकिङका क्रममा प्राकृतिक तथा मानव निर्मित ताल तथा पोखरीहरु, घाँसे मैदान, नर्सरी तथा वृक्षारोपण क्षेत्रको समेत अवलोकन गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूले बिरुवा उत्पादन, घाँसे मैदान ब्यवस्थापन तथा संरक्षण भू-क्षय रोकथाम लगाएतका वैज्ञानिक विधिबारे जानकारी प्राप्त गरेका थिए। नदी संरक्षणकर्मी तथा वातावरणविद् अपिल घिमिरेले नदी प्रणालीको महत्व, प्रदुषण र यसको प्रभाव, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा वनको भूमिका महत्वपूर्ण हुने बताएका थिए । यसै क्रममा उक्त रुट तथा नदी आसपासमा भेटिएका प्लाष्टिक जन्य फोहोरमैला संकलन गरी सुरक्षित ब्यवस्थापनका लागि सामुदायिक वनका अध्यक्षलाई जिम्मा लगाईएको थियो ।
नेचर गाइड सरोज खनालले जंगलमा सुरक्षित रूपमा यात्रा गर्ने तरिका, सम्भावित जोखिम र सावधानी तथा चरा अवलोकनका बारे जानकारी दिएका थिए। उनले हाइकिङलाई केवल भ्रमण नभई सिकाइ र अनुशासनको अभ्यासको रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।
सप्तगण्डकी क्याम्पसका वातावरणीय बिग्यानका उप प्राध्यापक ध्रुब आचार्यले, जंगल यात्राका क्रममा पालना गर्नुपर्ने नियमहरुको बारेमा जानकारी गराउँदै, हाईकिङका क्रममा भेटिएका बन्यजन्तुको पदचाप (पगमार्क) तथा दिसा (स्क्याट) चिन्ने तथा अध्ययन गर्ने तरिकाको बारेमा जानकारी गराएका थिए ।
पानी परेका कारण ढलेका रुखहरु, तथा लामो दूरीका कारण सहभागीहरूले केही कठिनाइ महसुस गरे पनि उत्साह र सहकार्यका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । विद्यार्थीहरूले यस्तो कार्यक्रमले कक्षाकोठामा सिकिएको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्ने अवसर प्रदान गरेको बताएका छन्। उनीहरूले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
क्याम्पस प्रमुख खिम लाल दाहालले यस्ता व्यवहारिक कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
डिभिजन वन कार्यालय र क्याम्पसबीचको सहकार्यमा सम्पन्न यस कार्यक्रमले वातावरणीय शिक्षा, अनुसन्धान तथा सचेतनामा तथा पर्यापर्यटनको परिक्षणमा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिएको छ। सहभागीहरूले यस्ता कार्यक्रमहरूले प्रकृतिसँग नजिक गराउने मात्र नभई वातावरण संरक्षणप्रति जिम्मेवार बनाउने विश्वास व्यक्त गरेका छन्।

Share.
Leave A Reply

Exit mobile version