रेशम सापकोटा

माडी नगरपालिका–९ स्थित धार्मिक तथा ऐतिहासिक महत्त्वले समृद्ध भगवान श्रीरामको जन्मस्थल अयोध्याधाममा यस वर्ष पनि विवाह पञ्चमी विशेष उत्सव अत्यन्तै आकर्षक रूपमा सम्पन्न भएको छ। मङ्सिर ९ गते परेको शुभ दिनलाई अवसर बनाएर माडी नगरपालिका, माडी प्रज्ञा प्रतिष्ठान प्रवर्द्धक तथा अयोध्या धाम पूजा व्यवस्थापन समितिको संयुक्त पहलमा धार्मिक कार्यक्रमसँगै सामूहिक खुल्ला रत्यौली प्रतियोगिता सञ्चालन गरिएको थियो।

उक्त प्रतियोगितामा १४ महिला समूहले सहभागीता जनाएका थिए। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले १० हजार, द्वितीयले ७ हजार, तृतीय समूहले ५ हजार तथा सान्त्वना प्राप्त समूहले ३ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

प्रतियोगितामा माडी–९ को राम जन्मभूमि आमा समूहले १०१ अंक हासिल गर्दै पहिलो भयो। त्यस्तै, सोही वडा–९ स्थित सूर्यमुखी आमा समूहले ९९.५ अंकका साथ दोस्रो स्थानमा रह्यो। माडी–२ को सितलपुर आमा समूहले ९९ अंक प्राप्त गर्दै तेस्रो स्थान हात पार्‍यो। माडी–९ को जनचेतना आमा समूहले ९७ अंकसहित सान्त्वना पुरस्कार प्राप्त गर्‍यो।

प्रतियोगिताको मूल्याङ्कन जनजीवन माध्यमिक विद्यालयकी प्रधानाध्यापक अमृता केसीको संयोजकत्वमा गरिएको थियो। समितिका सदस्यमा सोमेश्वर माध्यमिक विद्यालयकी प्र.अ. इन्दिरा तिवारी तथा माडी कला–साहित्य तथा सांस्कृतिक मञ्चका सदस्य सुलभ बन्धु पोखरेल रहनुभएको थियो। अप्रतियोगी समूहहरूको रत्यौली प्रस्तुतिले पनि वातावरणलाई थप उल्लासमय बनाएको थियो।

यस वर्षको कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतो रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति चितवनका सदस्य बाबुराम सुवेदी, माडी नगरपालिकाका माडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू, अयोध्या धाम पूजा व्यवस्थापन समिति तथा सल्लाहकार समिति संयोजक शिवहरी सुवेदीलगायत व्यक्तिहरूको उपस्थिति थियो।

मेयर महतोले रत्यौली प्रतियोगिताले माडीको मौलिक पहिचानलाई अझ सबल बनाउने उल्लेख गर्दै भन्नुभयो—
अयोध्याधामजस्तो पवित्र स्थलमा भएको रत्यौली प्रतियोगिता केवल मनोरञ्जनका लागि होइन, समुदायको सांस्कृतिक निरन्तरता र सामाजिक एकतालाई अझै मजबुत बनाउने माध्यम बनेको छ। माडी नगरपालिका यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा संस्थागत गर्न चाहन्छ।

प्रथमदेखि सान्त्वनासम्मका विजेता समूहलाई बागमती प्रदेशसभा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति माननीय ठाकुर प्रसाद ढकाल तथा माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। प्रतियोगितामा सहभागी सबै समूहलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका सभापति मथुराबहादुर भण्डारीले धार्मिक स्थलभित्रै पहिलोपटक यस्तो स्तरको खुल्ला रत्यौली प्रतियोगिता आयोजना हुनुले स्थानीय संस्कृति, पहिचान र सामुदायिक एकता अझ उर्जाशील बनेको बताउनुभयो।

अयोध्याधाम परिसर दिनभर धार्मिक भजन, रत्यौलीका मौलिक धुन, दर्शकको उत्साह र महिला समूहहरूको आकर्षक प्रस्तुति दोस्रो आकर्षण बनेको थियो। सहभागीहरूको भनाइअनुसार, यस वर्षको विवाह पञ्चमी उत्सव अयोध्याधाममा धार्मिक तथा सांस्कृतिक दुवै हिसाबले अत्यन्त सफल र स्मरणीय बन्यो।

कार्यक्रमको सञ्चालन माडी प्रज्ञा प्रतिष्ठानकी सदस्य इन्दिरा दाहालले गर्नुभएको थियो। कार्यक्रम अयोध्या धाम पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version