चितवन ,वैशाख १५ – शिक्षकको आन्दोलनका कारण बन्द भएका कालिकाका सामुदायिक विद्यालयहरु नगरपालिकाको दबाबपछि खुल्न थालेका छन्। नगरपालिकाले ‘लामो समयसम्म पठनपाठन रोकिँदा बालबालिकाले पढ्न पाउने अधिकार खोसिएको’ भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि सोमबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन्।

कालिका नगरपालिकाले गत शुक्रबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो। कालिका नगरपालिका-७ भटेनीस्थित पृथ्वी माध्यमिक विद्यालय सोमबारदेखि सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक सुर्यभक्त अधिकारीले बताए। स्थानीय सरकारले विद्यालय खोल्न दिएको दबाब र शिक्षक संगठनले विद्यालय नखोल्न दिएको दबाबको चेपुवामा आफुहरु परेको उनले गुनासो गरे । झन्डै ८०० विद्यार्थी रहेको सो विद्यालयमा सोमबार २०० विद्यार्थी उपस्थित थिए ।

त्यस्तै कालिका ३ मा रहेको आधारभूत विद्यालय वनकट्टामा पनि सोमबार देखि शैक्षिक गतिविधि संचालन भएको छ। ‘विद्यालयमा आज केही विद्यार्थी र अभिभावक आए, विद्यार्थीको नाम लेखाउने र पुस्तक वितरण गरियो’, प्रधानाध्यापक भक्त तामाङले बताए ।

यसैगरी कालिका ६ को माध्यमिक विद्यालय रेडक्रसग्राम पनि सोमबारबाटै सञ्चालनमा आएको छ। विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछानेका अनुसार नगरपालिकाको निर्देशन र अभिभावकको आग्रह अनुसार विधालय संचालन गरिएको हो। ‘ स्थानिय सरकारको निर्देशन आईसकेपछी ‘त्यसलाई अवज्ञा गर्ने अवस्था’, पनि नरहेको र बालबालिकाको ‘पढ्न पाउने,, अधिकारको पनि सम्मान गर्दै विद्यालय संचालन गरिएको प्रधानध्यापक लामिछानेले बताए ।
सो विद्यालयमा पठनपाठन सोमबारबाट मात्र सुरु भएको भएता पनि भर्ना अभियान भने केहिदिन अगाडी देखि नै सुरु गरिएको थियो। नयाँ शैक्षिकसत्रमा कक्षा नर्सरी देखि कक्षा ९ सम्म ३८० विद्यार्थी भर्ना भईसकेका छन् । गतवर्ष सो विद्यालयमा ३८६ विद्यार्थी भर्ना भएका थिए । सोमबार विद्यालयमा शत प्रतिशत शिक्षक उपस्थित थिए भने झन्डै ५० प्रतिशत विद्यार्थी उपस्थित थिए । लामिछानेले शिक्षकहरूको मागलाई सरकारले तत्काल सम्बोधन गरिदिएर निर्वाध पठनपाठन हुने वातावरण बनाउनुपर्ने बताए।

नगरपालिकाको निर्देशन बमोजिम विद्यालय संचालन भए/नभएको अनुगमन गर्न समाजिक विकास समिति संयोजक तथा वडा नं. ४ का वडाध्यक्ष मकरमान श्रेष्ठको नेतृत्वमा टोली खटिएको थियो । विभिन्न वडाका ८ वटा विद्यालय अनुगमन गरिएकामा सबै विद्यालयमा निर्वाध शैक्षिक गतिविधि संचालन भैरहेको श्रेष्ठले बताए । अनुगमनलाई निरन्तरता दिएर कालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा निर्वाध पठनपाठन हुने वातावरण बनाउने उनले बताए ।

उता आन्दोलन परिचालन कमिटि कालिकाका संयोजक रामकृष्ण लम्सालले तत्काल विद्यालय संचालन गर्ने र नगर्ने पक्ष बिचको मतभेदका कारण थप नैरेश्यता बढेको बताए । गतवर्ष पनि शैक्षिक क्यालेन्डर अनुसार वैशाख १३ देखि मात्रै विद्यालय संचालन भएको भन्दै उनले थप दुईचार दिन विद्यालय बन्द हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गरे । आन्दोलन परिचालन कमिटिको वैठकले, ‘विद्यालय बन्द भएको दिन गनेर, शिक्षकहरुले पाउने बिदाको दिन विद्यालय संचालन गर्ने प्रतिबद्धता गरिएको अवस्थामा नगरपालिकाले विद्यालय संचालन गर्न दबाब दिनु दु:खद भएको बताए ।

नगरप्रमुख विनोद रेग्मीले विद्यालय सञ्चालन अनिवार्य रहेको भन्दै ‘विद्यालय भर्ना र पठनपाठनमा असर नपर्ने गरि सिर्जनात्मक आन्दोलन गर्न शिक्षकहरुलाई आग्रह गरे। केन्द्रीय सरकारले आन्दोलनरत शिक्षकसंग वार्ता गरेर निकाश निकाल्नुपर्नेमा जोड दिंदै उनले अगाडी भने, ‘सामुदायिक विद्यालयका कक्षाकोठा खाली बनाउन मिल्दैन।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version