सहकारी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले भेटेका छन्।

उपसभापति वाग्लेले पोखरा पुगेर पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई शुक्रबार साँझ भेट गरेको जानकारी दिएका छन्।

सभापति लामिछानेको मनोबल उच्च रहेको आफूले पाएको वाग्लेको भनाइ छ।

सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको र खासै नयाँ कुरा नआएको वाग्लेले उल्लेख गरेका छन्।

भेटका क्रममा लामिछानेले आफूसँग अर्काे ३ वर्ष ओली-राणा-देउवाकै शासन चले देशको के हाल होला भनेर चिन्ता व्यक्त गरेको वाग्लेले बताएका छन्।

वाग्लेले शनिबार भनेका छन्, ‘राजनीतिक प्रतिशोधका लागि अनावश्यक प्रहरी हिरासतमा राखिनुभएका रास्वपा सभापति रवि लामिछानेजीसँग हिजो साँझ भेट भयो। सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको र मनोबल उच्च रहेको पाएँ। ‘अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला? उहाँको यो प्रश्नको उत्तरमा फरिद जकारियाद्वारा लिखित नयाँ पुस्तक ‘एज अफ रिभोल्युसन्स’ दिन पाएँ। तिहार-छठपछि सुशासनको बृहत् एजेन्डामा नयाँ शक्तिहरू गोलबद्ध हुनपर्ने देखिन्छ।’

रविविरुद्ध थप गरिएको ७ दिनको म्याद बिहीबार (कात्तिक १४ गते) सकिए पनि शुक्रबार (कात्तिक १५) देखि तिहार बिदा सुरु भएकाले उनी हिरासतमै रहेका हुन्। अब तिहार बिदा सकिएपछि कात्तिक २० गते मात्र अदालत खुल्नेछ। त्यसपछि मात्र उनीविरुद्ध अर्को म्याद थप्ने वा रिहा हुने भन्ने टुंगो लाग्नेछ।

Share.
Leave A Reply

Exit mobile version