काठमाडौँ — काठमाडौं महानगरपालिकाले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल देखाउने भएको छ । एन्फाले सीमित टिकट बिक्री गरेपछि काठमाडौं महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र चाबहिलमा ठूलो पर्दामा खेल देखाउने मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले बताए ।

नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) ले बुधबार सीमित संख्या टिकट बेचेको हो । दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको हो ।

एन्फाले बुधबार साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको छ । त्यस्तै माउन्ट एभरेस्ट स्पोर्ट्स् एन्ड इभेन्ट्स प्रालिले खल्तीबाट बेचिसकेका ४ हजार १ सय १७ टिकट पनि एन्फाले उपलब्ध गराएको छ । माउन्ट एभरेस्टसँग सम्झौता रद्द हुनुअघि नै टिकट बिक्री भएकाले उक्त संख्यामा टिकट उपलब्ध गराइएको एन्फाले जनाएको छ । त्यस्तै भीआईपी प्यारापिटतर्फ १ हजार मात्र टिकट बिक्री गरेको एन्फाले जनाएको छ ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि आउने भएकाले भीआईपीतर्फको पास पनि बढेको एन्फाले जनाएको छ । सुरक्षालाई मध्यनजर गर्दै २० प्रतिशत सिट खाली राखिएको एन्फाले जनाएको छ । टिकट पाउने आशमा दर्शकहरू बिहानैदेखि लाइनमा बसेका थिए । तर लाइन बसेका सबैले टिकट भने पाएनन् ।

यसअघि नेपाल र भारतबीच सेमिफाइनलमा रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री भएपछि फाइनलको टिकट भने एन्फा आफैंले बेचेको हो । जावलाखेल खेल मैदान, एन्फा मुख्यालय सातदोबाटो र भद्रकालीस्थित आर्मी अफिसर्स केन्द्रमा टिकट बिक्री केन्द्र राखिएको थियो।


बढी टिकट बिक्री गरेको भन्दै एन्फाले टिकट बिक्रीको जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स् एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गरेको थियो। माउन्ट एभरेस्टले ८० लाख रुपैयाँमा टिकट बिक्री अधिकार प्राप्त गरेको थियो । रंगशालाको क्षमता १५ हजार मात्रै भए पनि त्यो दिन करिब २० हजार दर्शक थिए ।

साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । साफ वुमेन्स च्याम्पियनसिपका ७ संस्करणमध्ये योसमेत गरी नेपाल ६ पटक फाइनलमा पुगेको छ तर अहिलेसम्म उपाधि उचाल्न पाएको छैन ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version