वरिपरि उर्लिएको बाढी नै बाढी छ, बीचमा बाढीले क्षत्विक्षत् टिनको टहरो। टहरोमाथि चार थान जिन्दगी जीवनरक्षाको याचना गर्दै हारगुहार गर्दैछन्। नदी किनारमा उनीहरूलाई बचाउन तर्किव खोज्दै असिनपसिन छ।

यही दृश्य आज (शनिबार) सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। दृश्य देशको राजधानी उपत्यकाको ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खुखोलाको हो। छेउमै भव्य कान्तिपुर कलोनी छ।

दृश्य शनिबार बिहानकै हो। अविरल वर्षापछि नख्खु खोलाको बाढीले बसिरहेको टहरो डुबाउँदा बिहानै टहरोमा बस्दै आएका चारजना उद्धारको याचना गर्दै छतमा बसेका थिए। झण्डै चार/पाँच घण्टासम्म छतमा बस्दा पनि उनीहरूको उद्धार हुन सकेन्।

नौ बजेतिर टहरो भत्कियो। टहरोमा भएका चारैजना बाढीमा हेलिए। त्यो बाढीमा उनीहरू बगेनन्, सरकार बग्यो !  बगेका मध्ये तीनजनाको ज्यान स्थानीयको सहासिक उद्धारले जोगिएको छ। एकजना बालिका वेपत्ता छन्।

‘आँखै अघि बगे, हारगुहार सुनिएन’

वर्षाले रौद्र रूप धारण गरेपछि ललितपुर महानगर–१४ का वडाध्यक्ष अमृतजंग महत शुक्रबार रातिदेखि नै चिन्तित थिए। उनी नख्खु खोलामा जोखिमपूर्ण तवर बसिरहेका परिवारप्रति जानकार थिए।

‘हामीकहाँ अन्यत्रजस्तो खोला किनारमा धेरै बसोबास छैन। उहाँहरू जस्तै केही परिवार छन्। करिडोरको अनुगमन गर्दा उहाँहरूसँग चिनजान थियो,’ कुराकानीमा वडाध्यक्ष महतले भने, ‘त्यही चिनजानका आधारमा राति फोन गरेर बुझ्दा पुल बगाएको सुनाउनुभएको थियो।’

त्यो टहरोमा चारवर्षदेखि रौतहटका ४० वर्षीय राजु साहको परिवार बस्थ्यो। राजुसहित उनका २८ वर्षीय भाई राज, दुईजना छोरीहरू ६ वर्षीया मेघना र ५ वर्षीया सेतु थिए। उनीहरू फलाम वेल्डिङको काम गरिरहेको वडाध्यक्ष महत बताउँछन्।

वडाध्यक्ष महत बिहान उठ्दा नख्खु खोला अझै बढेर मान्छे थुनिएको सुनियो। ‘त्यसपछि बिहान ७ बजेतिर आफै खोला किनार पुग्दा स्थिती निकै विकराल बनिसकेको थियो। उहाँहरू छतमा बसेर उद्धारका लागि हारगुहार गरिरहनुभएको थियो,’ वडाध्यक्ष महतले भने।

त्यसपछि उनी आफैले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग उद्धारका लागि हारगुहार गर्न थाले। सेनाको हेलिकप्टरमार्फत हवाई उद्धारका लागि समेत स्थानीय सांसदबाट पनि भन्न लगाए।

केहीबेरमा नेपाल प्रहरी आइपुग्यो। ‘तर उहाँहरूसँग उद्धारका लागि पर्याप्त संशाधन थिएन्। डोरीको आधारमा उद्धारको प्रयास पनि सम्भव भएन,’ वडाध्यक्ष महतले सुनाए,‘सशस्त्र र आर्मीलाई कुर्दा उहाँहरू समयमा आइदिनुभएन्। हाम्रै नगरप्रहरीसम्म पनि पुगेन।’

त्यसपछि नेपाल प्रहरीको टोली लाइफ ज्याकेट मगाएर भएपनि उद्धार गर्ने तयारीमा जुट्यो। ‘ठ्याक्कै लाइफ ज्याकेट पुग्नेबेला टहरो भत्किएर उहाँहरू बाढीमा खस्नुभयो,’ वडाध्यक्ष महतले भने।

सहासिक उद्धार

त्यसरी खसेको सयौं स्थानीयबासीले हेरिरहेका थिए। हेरिरहेकामध्ये ३३ वर्षीय चणिकलाल तामाङले बाढीमा पसेर तीनजनालाई जोगाउन सफल भएको स्थानीय प्रत्यक्षदर्शी समेत रहेका नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले जानकारी दिए।

तामाङको साहसमा पूर्ण केसीसहित स्थानीयबासीहरूले पनि सघाए। ‘त्यो छतमा देखिएका चारमध्ये तीनको ज्यान जोगियो। एक बालिका बेपत्ता छन्,’ पूर्वडिआइजी सिंहले भने। बेपत्ता हुने राजुकी छोरी सेतु साह रहेको वडाध्यक्ष महतले जानकारी दिए।

उद्धारपछि डिआइजी सिंहले गाडी मगाएर तीनजनालाई पाटन अस्पताल पुर्‍याए। पाटन अस्पतालमा राजु, उनका भाई राज र छोरी मेघना उपचाररत् छन्। उनीहरूको अवस्था सामान्य रहेको वडाध्यक्ष महतले बताए। नागरिक न्युजसँग कुरा गर्दा उनी अस्पतालमै थिए। ‘अवस्था सामान्य भएपछि एक छोरी बेपत्ता भएकाले उहाँहरू विछिप्त हुनुहुन्छ। राम्ररी कुरा गर्न सकिरहनुभएको छैन,’ वडाध्यक्ष महतले भने।

राजधानीमै यस्तो अवस्था हुँदा पनि राज्यका निकायले समयमै उद्धारका लागि गरिएको हारगुहार नसुनिदिँदा एक बालिकासहित अर्का एक युवाको ज्यान जोगाउन नसकिएको वडाध्यक्ष महतको आरोप छ। उनले भनेका अर्का युवामा ओखलढुंगाका देवराज कार्की छन्। उनी पनि बेपत्ता रहेको वडाध्यक्ष महतले बताए।

‘हेलिकप्टर पठाएको भए पाँच मिनेटमै उद्धार हुन्थ्यो। यहाँ त चारपाँच घण्टासम्म लाइफ ज्याकेट समेत आएन। न सशस्त्र र सेनाको टोली आयो,’ वडाध्यक्ष महतले भने।

उता गृहमन्त्री रमेश लेखकले यो घटनाबारे सोधिएको प्रश्नमा कोसिस गर्दागर्दै बचाउन नसकेको बताए। ‘नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौं। यसकाप्रति म दुःखी छु,’ सुरक्षा प्रमुखसँगको बैठकपछि पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘हेलिकप्टर उडार रेस्क्यु गर्ने कुरामा भिजिविलिटी नभएका कारणले सकिएन।’

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version