काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको ओरालो यात्रा निरन्तर रहेको बताएका छन्। काठमाडौंमा आयोजित नेकपा (एमाले) को जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा माओवादीको ४/५ लाख मत आउने आँकलन गरेका हुन्।

उनले माओवादी ८४ को निर्वाचनमा राष्ट्रिय पार्टीसम्ममा अडिएला कि भन्दै व्यङ्ग्य गरेका छन्। ‘मैले एउटा स्थापित दैनिक पत्रिकामा देखेको थिएँ हिजो मात्रै होला। माओवादीको १९ लाख कति भोट कहाँ गयो ? भन्ने गम्भीर प्रश्न, विश्लेषण गरेको देखेको थिएँ। एउटा चुनावमा ३१ लाख भोट आउँछ, अर्को चुनावमा पुग्दा त्यस्तै १८ लाख जति ,अर्को चुनावमा पुग्दा १३ लाख जति, अर्को चुनावमा पुग्दा ११ लाख जति, अब अर्को चुनावमा पुग्दाखेरी ४/५ लाख जति आउँला कि ? राष्ट्रिय पार्टीसम्ममा अडिएला कि ?’

पछिल्लो दुई निर्वाचनमा अरू दलसँग गठबन्धन गरेर तेस्रो स्थानमा पुगेको माओवादीका लागि अबका दिन पनि निकै कठिन देखिएको समाचारमा उल्लेख गरेको थियो। कांग्रेस र एमालेले अब कसैसँग चुनावी गठबन्धन नगरी एक्लाएक्लै चुनाव लड्ने निर्णय गरिसकेकाले एक्लै चुनाव लड्दा माओवादीको आकार झनै खुम्चिने भन्दै माओवादीका नेता चिन्तित देखिएका छन्।

०६३ मा १० वर्षे सशस्त्र युद्ध छोडेर शान्ति प्रक्रियामा आउँदा मुलुकमा माओवादीको रापताप थियो। त्यसैकारण ०६४ को पहिलो संविधानसभामा माओवादी देशको ठूलो दल बन्यो। अहिले बिस्तारै त्यो शक्ति क्षिण हुँदै गएको छ। झन्डै चार दशकदेखि प्रचण्ड पार्टीको नेतृत्वमा छन्। यसले नेता तथा कार्यकर्ताहरूमा तीव्र असन्तुष्टि पैदा गरेको छ। गुट, फुट, स्वार्थ र असन्तुष्टिले पार्टीभित्र असन्तोष भुसको आगो जस्तै फैलिँदै छ। प्रचण्डले पार्टी नेतृत्व छोड्नुपर्ने भन्दै पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्मा(प्रभाकर)ले फरक मत राखी सकेका छन्। तर, नेतृत्व पंक्ति त्यसप्रति खासै चिन्तित नरहेको भन्दै माओवादी नेताहरूको आक्रोश छ। पार्टी सकिँदा नेता कार्यकर्ताहरूमा राजनीतिक जीवन पनि सक्किने भन्दै पार्टीभित्र चिन्ता भइरहेको छ।

एमाले अध्यक्ष ओलीले राष्ट्रिय र निर्णायक शक्ति निर्माणका लागि अहिलेबाट नै खट्न एमालेका नेता कार्यकर्तालाई निर्देशन दिए। उनले मिसन ८४ एमालेका लागि निर्णायक बिन्दु तय हुने बताए। मिसन ८४ सफल पार्न र एकल बहुमत ल्याउन सक्ने आधार एमालेसँग भएको उल्लेख गरे।  प्रधानमन्त्री ओलीले जनतामा विश्वास जगाउनुपर्ने धारणा राखे।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version