वन फडानी रोकिएपछि घना बन्दै गएका म्याग्दीका सामुदायिक वन र खोरियामा गत फागुनदेखि जेठसम्म लागेको डढेलोका कारण जङ्गली जनावर देखिन छाडेका छन्।

डढेलोका कारण जंगल उजाडिएपछि चराचुरुङ्गीको कोलाहल र चिरबिर सुनिन छाडेको स्थानीयले बताएका छन्।

डढेलोका कारण वन नष्ट भएपछि वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर सुनिन छाडेको मालिका गाउँपालिका–१ निस्कोटका राम पुनले बताए।

‘रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रौनक घटेको छ, पहिला जंगलमा देखिने जनावर अहिले गाउँका खेतबारी र सडक छेउमा देखिन थालेका छन्,’ उनले भने।

जंगलमा डढेलो लागेयता चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका–६ उपल्लो दुखुका यमन पुनले बताए।

‘डढेलो लागेपछि वन क्षेत्र वर्षापछि पनि कालो देखिएको छ । जंगलमा कुनै चहलपहल छैन । जङ्गली जनावर गाउँ पसेर दुःख दिन थालेका छन्,’ पुनले भने।


जंगलमा डाँफे, कालिज, चिबे, तित्रा, कटुके चरा, लामपुच्छ्रे लगायत पक्षी देखिन छाडेका बेनी नगरपालिका–३ भकिम्लीका तेजबहादुर घर्तीले बताए।

‘अचेल यी चरा देखिँदैनन्। वनमा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराए,’ उनले भने।
समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ, दाउरा, घाँस र स्याउला फडानी रोकिएपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका थिए । वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जङ्गली जनावर वृद्धि भएको थियो। डढेलोले जंगल सखाप पारेपछि गाउँमा झन् बढी जङ्गली जनावर पसेर दुःख दिन थालेका मालिका गाउँपालिका–१ निस्कोटका टकबहादुर विक बताउँछन्।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये गएको हिउँदमा डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दीमा पुर्‍याएको छ।

डढेलोले म्याग्दीको करिब दुई हजार हेक्टर वन क्षेत्र ध्वस्त बनाएको छ। जिल्लाका मालिका, मङ्गला र बेनी नगरपालिकाका वनमा डढेलो लागेको थियो।

आफ्नो बासस्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अन्तै गएको हुनसक्ने मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोका बताउँछन्।

डढेलोले वनका महत्त्वपूर्ण जडीबुटी सखाप भएका छन्। चराचुरुङ्गी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ खरानी भएको छ।

डिभिजन वन कार्यालयको अभिलेखअनुसार म्याग्दीको दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ।

ढोरपाटन सिकार आरक्षले एक हजार २६० हेक्टर, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले तीन हजार ७५३ हेक्टर वनक्षेत्र ओगटेको छ।

डिभिजन कार्यालय मातहतका ७९ हजार ४३९ हेक्टर वनमध्ये २४ हजार २०२ हेक्टर,३१० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ। करिब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version