काठमाडौं : नेपाली वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर (करिब साढे २३ करोड रुपैया) को ‘ग्रान्ट’ प्रदान गरेको छ।

भौतिकशास्त्र विषयका ४५ वर्षीय वैज्ञानिक डा. मैनालीले आँखाको लेन्समा पाइने अल्फा–क्रिस्टालिन प्रोटिनको मोतियाबिन्दु निर्माणमा रहेको भूमिकाबारे सूक्ष्म अध्ययनका लागि उक्त अनुदान प्राप्त गरेका हुन्।

उनले २०१९ देखि नै मोतियाबिन्दु लाग्दा आँखाको लेन्समा अल्फा– क्रिस्टालिन प्रोटिनको भूमिकाबारे अध्ययन सुरु गरेका थिए। उनलाई २०१९ मा नै पाँच वर्षको अध्ययनका लागि एनआईएचले १५ लाख डलरको ग्रान्ट दिएको थियो। डा. मैनाली हाल अमेरिकाको इडाहो राज्यस्थित ‘बोइस स्टेट युनिभर्सिटी’ मा भौतिकशास्त्र विषयका असिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत छन्।

६ वर्षयता भने मैनाली शल्यक्रियाबिनै मोतियाबिन्दुको उपचार सम्भव बनाउनका लागि लागिपरेका छन्।

‘आँखाको लेन्सभित्र हाई कोलेस्ट्रोल राम्रो हो भन्ने कुरा पुष्टि गर्न खोज्दै छु,’ उनले भने, ‘लेन्समा हुने हाई कोलेस्ट्रोलले अल्फा–क्रिस्टालिन प्रोटिनलाई रोक्न सकारात्मक भूमिका खेल्न सक्छ।’

विभिन्न अध्ययनअनुसार आँखाको लेन्सका झिल्लीमा उमेर र मोतियाबिन्दुसँगै अल्फा–क्रिस्टालिनको तह बढ्दै जान्छ। तर, लेन्समा अल्फा– क्रिस्टालिनको तह कसरी समाहित हुन्छ। भन्ने प्रक्रिया भने हालसम्म अज्ञात रहेको छ।

डा. मैनालीले २०१२ मै जोन–विल युवा अनुसन्धानकर्ता अवार्ड पनि प्राप्त गरेका थिए। उनी २००० मा त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित भएका थिए।

Share.
Leave A Reply

Exit mobile version