काठमाडौं- कोभिड १९ र अर्थतन्त्रमा आएको शिथिलताका कारण उत्पादन बन्द गरी सञ्चालनमा नरहेका उद्योगका उद्योगीहरूले राष्ट्र बैंकसमक्ष कर्जा नियमित भुक्तानीको व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।
निर्माणका काम घटेसँगै पछिल्लो समय सिमेन्ट उद्योगहरूको उत्पादनमा उच्च गिरावट आएको छ। सिमेन्ट उद्योगतर्फ विशेष गरी क्लिंकर खरिद गर्ने र ग्राइन्डिङ गरी सिमेन्ट उत्पादन गर्ने उद्योगहरूले उत्पादन बन्द गरेका छन्।
खाद्यान्नलगायत विभिन्न उत्पादनमूलक वस्तु उत्पादन गर्ने साना तथा मझौला उद्योगी व्यवसायीहरूले पनि बजारमा माग नभएको भन्दै उद्योग सञ्चालन गर्न छोडेका छन्।

केही समयलाई उद्योग बन्द गरेर उत्पादन लागतबाट जोगिन खोजेका उद्योगहरू बैंक वित्तीय संस्थाहरूले बाँकी रहेको कर्जाको साँवाब्याज भुक्तानीका लागि ताकेता गरेपछि भने समस्यामा परेका हुन्।

उत्पादन नगरे पनि बैंकले निर्धारण गरेबमोजिम नियमितरुपमा कर्जाको साँवा ब्याज भुक्तानी गरिरहँदा बैंकहरूले सम्पूर्ण रकम एकैपटक तिर्न भनेपछि आफूहरू समस्यामा परेकाले राष्ट्र बैंकसमक्ष उनीहरूले आग्रह गरेका छन्। अर्थतन्त्र सहज हुनासाथ उत्पादनतर्फ पुन: लाग्ने भएकाले उद्योगलाई नियमितरुपमा कर्जा तिर्ने व्यवस्था मिलाइदिन आग्रह गरिरहेको एक उद्योगीले बताए।

कोभिड १९ र पछिल्लो आर्थिक शिथिलताले उत्पादन बिक्री हुन छाडेपछि उद्योगीहरू उद्योग बन्द गर्न बाध्य भएका छन्। उद्योग बन्द भएपनि उनीहरूले बैंकबाट लिएको कर्जाको साँवाब्याज नियमितरुपमा भुक्तानी गरिरहेकै छन् तर राष्ट्र बैंकको खराब कर्जासम्बन्धी व्यवस्थाका कारण बैंकहरूले उत्पादन बन्द गरेका उद्योगहरूलाई एकैपटक कर्जाको साँवाब्याज भुक्तानी गर्न ताकेता गरेका छन्।

‘वस्तुको माग नहुँदासम्म मात्रै उत्पादन बन्द गरिएकाले बजारबाट माग आउनासाथ उत्पादनमा जाने योजनामा उद्योगीहरू छन्। एकैपटक ऋणको साँवा ब्याज भुक्तानी गर्दा उद्योगलाई लिलामी प्रकृयामा लैजानुपर्ने हुन्छ। यसले भोलिका दिनमा फेरि उद्योग स्थापनामा नै ठूलो समस्या आउने देखेर पूर्वनिर्धारित तालिकाअनुसार नियमितरुपमा कर्जा तिर्ने व्यवस्था मिलाइदिनुपर्ने अधिकांश उद्योगीको माग हो’, ती उद्योगीले भने।

उत्पादन बन्द गरेर रुग्ण अवस्थामा पुगेका उद्योगहरूमा राष्ट्र बैंकले असुलउपर हुन बाँकी रहेको सम्पूर्ण कर्जालाई खराब कर्जाको रुपमा बुक गरेर शतप्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकको यस व्यवस्थाले गर्दा त्यस्ता उद्योगहरूमा लगानी गर्ने बैंक वित्तीय संस्थाहरू पनि कर्जा असुली गर्ने वा खराब कर्जा बुक गर्ने भन्ने दबाबमा छन्।

रुग्ण उद्योगको समस्या बुझेर नियमित ढंगबाट कर्जा असुली प्रकृया बढाउँदा राष्ट्र बैंकको उक्त प्रावधानका कारण बैंकहरूको खराब कर्जा थप बढ्ने समस्या रहेको बैंकका प्रमुख कार्यकारी अधिकृतहरू बताउँछन्।

चालु आर्थिक वर्ष बैंकहरूको खराब कर्जामा यसै पनि दबाब रहेकाले उद्योगलाई माया गर्न खोज्दा बैंक नै धराशायी बन्ने अवस्था रहने हुँदा बाध्यताबस रुग्ण उद्योगको सम्पूर्ण रकम असुली गर्नैपर्ने दबाबमा आफूहरू रहेको एक बैंकरले बताए।

अर्थतन्त्रले गति नलिएकाले चालु आर्थिक वर्ष बैंकहरूको कर्जा लगानी बढ्न सकेको छैन। अर्थतन्त्रको चक्रमै समस्या आएकाले कर्जा प्रवाह मात्रै होइन असुलीमा पनि समस्या भइरहेको छ। अहिले बैंकहरू आफ्नो वित्तीय विवतरण कसरी सुधार्ने भन्नेमै बढी केन्द्रित छन्।

‘जसरी पनि असुली बढाएर खराब कर्जा घटाउने र पुँजीकोषमाथिको दबाब कम गर्नेमा नै बैंकर्स बढी चिन्तित छन्। रुग्ण उद्योगीको समस्या हामीले बुझेपनि माया गर्न सक्ने अवस्था छैन। हामीले मात्रै समस्या बुझेर हुँदैन, राष्ट्र बैंकले पनि बुझ्नुपर्‍यो। राष्ट्र बैंकले समस्या बुझेर रुग्ण उद्योगीलाई नियमित कर्जा तिर्ने व्यवस्था मिलाउने हो भने कर्जा नोक्सानी व्यवस्थामा सहजीकरण गर्नुपर्छ’, ती बैंकरले बताए।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version