काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा आउन प्रस्ताव पठाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेलामा ओलीले जनमत अध्यक्ष राउतलाई उक्त प्रस्ताव पठाएका हुन् ।

मधेशमा जनमतको नेतृत्वमा सरकार बनेपछि जनमत र नाउपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्री प्रचण्डको प्रयास छ । यही गृहकार्य चलिरहेको बेलामा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमार्फत् राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका हुन् ।

जनमत र नाउपालाई सरकारमा समावेश गराउन एमाले र माओवादीबाट एकएक जना मन्त्री फिर्ता बोलाउने तयारी छ । यद्यपि त्यसबारे कुनै निर्णय भएको छैन ।

प्रधानमन्त्री प्रचण्डले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने वचन दिएको बताइएको छ । त्यसका लागि माओवादीबाट मन्त्री बनेका हितबहादुर तामाङलाई फिर्ता बोलाउने तयारी छ ।

एमालेले पनि एक मन्त्री फिर्ता बोलाउनुका साथै मन्त्रालयको साटफेर गरेर जानुपर्ने विषयमा छलफल चलाएको छ । यद्यपि एमालेले कसलाई फिर्ता बोलाउने भन्ने निर्णय गरेको छैन ।

यद्यपि बजेट पारित हुनुअघि आफूहरु सरकारमा सहभागी नहुने जनमतका अध्यक्ष राउतले बताए । उनले भने, ‘हामीले बजेटपछि मात्रै कुरा गर्छौं भनेर अहिले कुरा गरेका छैनौं । बजेट पारित भएपछि मात्रै यो विषयमा ठोस रुपले कुरा गर्छौं ।’

उनले आफ्नो पार्टीलाई यही मन्त्रालय चाहिन्छ भनेर अहिलेसम्म नभनेको बताए ।

अध्यक्ष राउतले थपे, ‘मन्त्रालयकै विषयमा कुरा भएको छैन । बजारमा म आफैं जाँदैछु भन्ने चर्चा पनि छ, तर पार्टीले त्यस्तो कुनै निर्णय चाहिँ गरेका छैनौं । हामी मधेश सरकार गठनमै व्यस्त थियौं । अब बजेट पारित भएपछि मात्रै कुरा गर्छौं ।’

तपाईं आफैं सरकारमा सहभागी हुन उपप्रधानमन्त्री माग्नुभएको हो भन्ने नेपाल प्रेसको जिज्ञासामा उनी भन्छन्, ‘उपप्रधानमन्त्री मैले मागेको भन्दा पनि बजारमा भएका चर्चाको विषय हुन् ।’

गृहमन्त्री लामिछानेमार्फत् आफूलाई ओलीले परराष्ट्र मन्त्रालय लिन प्रस्ताव गरेको राउतले स्वीकारे । उनले भने, ‘सीधै कुराकानी भएको छैन अहिलेसम्म, तर केही समयअघि गृहमन्त्रीमार्फत् ओलीजीबाट मलाई परराष्ट्र मन्त्रालयको कुरा आएको थियो ।’

अहिले परराष्ट्रमन्त्री माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । माओवादीभित्र अर्थमन्त्रीबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिन दबाब बढिरहेको छ ।

भनेपछि उपप्रधानमन्त्री पाए सरकारमा जानुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष राउतले थपे, ‘अहिलेसम्म मैले सोचेको छैन । सकेसम्म म त बाहिरै बस्छु भन्ने मनस्थितिमा छु । पार्टी निर्माणको क्रममा छौं ।’

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version