सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

‘यो बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने दफावार हिसाबले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो,’ ओलीले भने, ‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि? जस्तो अलि बढ्ता देखिन गएको छ। र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढि एकातिर ढल्किएको खालको जस्तो देखिन्छ।’

अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र)प्रति ढल्किएको बजेट ल्याएको समेत ओलीले बताए। बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उनले बजेट निर्माणमा प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको दाबी गरे।

संसद्‌मा भोलि (आइतबार) देखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ। छलफलमा भाग लिनुअघि ओलीले सांसदहरूलाई छलफलमा बोलाएर बजेटमा कुनै कमजोरी नै औल्यांउनु नहुने रहेको बताए।

‘यसको निर्माण प्रक्रियामा नै कमी रह्यो, जसले गर्दा त्यो कमी नरहनु पर्दथ्यो, रहन जाँदा यसमा गम्भिर त्रुटीहरू रहे। हामीले समाजवाद निर्माणको बाटो लिएका छौँ। त्यसका लागि समाजवाद निर्माणका आधारहरू तयार गर्ने, समाजवाद उन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरू, ती कुराहरू बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो,’ ओलीले भने, ‘अलि अन्योलग्रस्त देखिन्छ। पछि साथीहरूले यस सम्बन्धमा छलफल गर्नु नै हुनेछ। एउटा चाहीँ हामीमा कुनै दुविधा हुनुहुँदैन– यस बजेटलाई हामी समर्थन गछौंँ। र पारित गर्छौँ। यसको मतलव बजेटमा रहेका कुनै कमी पनि औंल्याउन हुँदैन भन्ने होइन।’

अध्यक्ष ओलीले बजेटमा कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पारे।

‘अहिले हामीसँग प्रस्तुत भएको बजेट वक्तव्यसँग सम्बन्धित र खासगरी करका दरहरूसँग सम्बन्धित खास गरी भन्सार र आयकर सम्बन्धि अरू विभिन्न प्रकारका करसम्बन्धि या सम्पूर्ण आयको अनुमानसम्बन्धि व्ययका क्षेत्रहरू र अनुमानमा आधारित भएर कस्तो खालको दिशा समेटेको छ बजेटले। हामी जानुपर्ने कतो हो? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ? यी विषयहरूमा केन्द्रित भएर छलफल गर्नेछौँ। अरू छलफल बाँकी रहन्छ,’ ओलीले थप प्रष्ट पार्दै भने, ‘अघि नै मैले भनेँ–विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन कुन मन्त्रालय कस्तो विनियोजन भयो? र त्यसमा कुन कुन कार्यक्रममा के भएको छ? कुन नयाँ थपिएको छ, कुन पुरानो जारी छ? कुन कटौति गरिएको छ? कुन पूरा भयो, कुन अपुरैमा कटौति भयो? नाम मात्रैको आयोजना राखियो तर बजेट छुट्याइएन कि? कहाँ कस्तो कमी रहे, त्यसलाई पनि हेरिनेछ। र यस बजेटका सवल पक्षहरू के हुन, सकारात्मक पक्षहरू के हुन्? ती पनि हेरिनेछ। र यसमा कमीकमजोरीहरू के छन्? त्यसलाई पनि हेरिनेछ। र यस सन्दर्भमा हामी अलिक छलफल खुलेर नै गर्छौँ।’

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version