इलाम- इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन्।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस झिनो मतान्तरले अघि लागेको छ ।

यी दुई वडामा २ हजार ८३९ मत खसेको थियो जहाँ कांग्रेसले ८२ मतको अग्रता कायम गरेको छ ।

प्राप्त तथ्यांक अनुसार यी २ वडामा कांग्रेसले १ हजार १४५ मत प्राप्त गरेको छ । यहाँ कांग्रेस उमेदवार डम्बर खड्का छन् ।

दोस्रो स्थानमा एमालेका सुहाङ नेम्वाङ छन् । उनले १ हजार ६३ मत पाएका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् । मुडा चिह्नका थेगिमले ३११ मत पाएका छन् ।

चौथोमा रास्वपा उमेदवार मिलन लिम्बू छन् । उनले २०९ मत पाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि इलाममा बैशाख १५ गते उपनिर्वाचन भएको हो ।

संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो ।

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् ।

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।

Share.
Leave A Reply

Exit mobile version